काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी स्थित होटल लुम्बिनी हेरिटेजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी लुम्बिनी प्रदेशबाट योग्य भएका ३४० जना अभिकर्ताहरू र विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशबाट सीइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरिनुका साथै सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यसै गरी सो अवसरमा नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीइओ क्लब र नेशनल अवार्डअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रूपमा सम्मान कार्यक्रम गरिँदै आएको र हाल सम्म गण्डकी प्रदेश कर्णाली प्रदेश, सुदूर पश्चिम प्रदेशका अभिकर्ताहरूको सम्मान कार्यक्रम सम्पन्न भइसकेको र सोही क्रममा लुम्बिनी प्रदेशबाट छनौट भएका अभिकर्ताहरूलाई सम्मान गरिएको बताए । उनले बाँकी प्रदेशहरूमा पनि सिइओ क्लब सम्मान कार्यक्रमको तयारी भइसकेकोले सो प्रदेशहरूमा पनि अब छिट्टै नै कार्यक्रम सम्पन्न हुने जानकारी गराए ।
साथै उनले कम्पनीले ल्याएको सीइओ क्लब कार्यक्रममा नेपाल भरबाट १६०० जना जना भन्दा बढी अभिकर्ताहरू छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाहरू बाट अभिकर्ताहरूलाई व्यावसायिक बनाउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले तालिम प्रदान गरेका थिए । तालिमको क्रममा प्रशिक्षक झाले बीमा अभिकर्ता पेसा केवल व्यवसायसँग जोडिएको नभै सेवा भावसँग जोडिएको एक पवित्र पेसा भएको र यस पेसामा जोडिनु हरेक अभिकर्ताका लागि एक अवसर भएको हुँदा यस पेसामा लाग्ने व्यक्तिले सफलता हासिल गर्ने मुख्य आधार नै काम प्रतिको इमानदारिता र निरन्तरता रहेको बताए ।
समारोहमा सहभागी अभिकर्ताहरूले चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्दा यस पेसामा थप ऊर्जा मिलेको र आफ्नो मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा अत्यन्तै गर्व महसुस भएको बताए ।
प्रतिक्रिया