काठमाडौं- गत असोज १८ गतेको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७८१ वटा प्रारम्भिक बीमा दाबीको कूल करिब रु. ४ अर्ब ४ करोड प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कूल ६७ वटा दाबीको कूल दाबी रकम करिब रु. १ करोड ८८ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१० वटा दाबीको दाबी रकम करिब रु. ३ अर्ब ४५ करोड ३५ लाखमध्ये कूल २० वटा बीमा दाबीको करिब रु. ८३ लाख, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०६ वटा बीमा दाबीको करिब रु. ५० करोड ३७ लाखमध्ये कूल ६ वटा दाबीको करिब रु. २ लाख, कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबीको करिब रु. ४ करोड १४ लाखमध्ये कूल ३१ दाबीको करिब रु. १३ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिब रु. ३ करोडमध्ये कूल ९ वटा दाबीको करिब रु. ८७ लाख बीमा दाबी रकम बीमितलाई भुक्तानी भएको छ ।
यसै गरी, सामुद्रिक बीमातर्फ ३ वटा बीमा दाबीको करिब रु. १० लाख बीमा दाबीमध्ये एउटा दाबीको करिब रु. ३ लाख दाबी रकम बीमितलाई भुक्तानी भएको छ भने मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिब रु. १ करोड ८ लाख र लघुबीमातर्फ २ वटा दाबीको करिब रु. १२ लाख बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको अद्यावधिक तथ्यांक रहेको छ ।
यस्तै, हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०० वटा बीमा दाबीको करिब रु. २३ अर्ब ४४ करोड दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिब रु. ४ अर्ब ३८ करोड ४८ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् ।
प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्यांकअनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिब रु. १९ अर्ब १ करोडमध्ये करिब रु. ३ अर्ब १२ करोड २७ लाख र मोटर बीमातर्फ २ हजार ३०८ वटा बीमा दाबीको दाबी रकम करिब रु. ३ अर्ब ४८ करोडमध्ये करिब रु. १ अर्ब ९ करोड भुक्तानी भएको छ ।
यसै गरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको करिब रु. ५५ करोड ५५ लाख दाबी रकममध्ये करिब रु. ६ करोड ८१ लाख, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको करिब रु. १ करोड ६९ लाख दाबी रकममध्ये करिब रु. ६६ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिब रु. ३८ करोड ४० लाख दाबी रकममध्ये करिब रु. ४९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
बीमकहरूलाई करिब रु. २ अर्ब ५६ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब रु. २ अर्ब ५६ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६१ वटा पुनर्बीमा दाबीको दाबी रकम करिब रु. १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।
प्रतिक्रिया