काठमाडौं महानगरपालिका उपप्रमुख डंगोलद्वारा युरोपेली संसदमा नेपालको स्थानीय सरकारको आवाज प्रस्तुत

सोमबार, २९ मंसिर २०८२, १३ : १३

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले युरोपेली संसदको मञ्चमा नेपालको स्थानीय सरकारको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय विकास बहसमा महत्वपूर्ण सन्देश दिएकी छिन् ।

बेल्जियममा सम्पन्न ‘Cities and Regions for International Partnerships 2025 Forum’ मा उनले भनिन्, “स्थानीय सरकारहरू केवल कार्यान्वयनकर्ता होइनन्, उनीहरू नीति निर्माणकै सुरुदेखि निर्णायक साझेदार हुनुपर्छ।”

डंगोलले जोड दिइन् कि विकास केवल पूर्वाधार र पूँजीको नाममा सीमित हुनुहुँदैन; सामाजिक समावेशिता, सुशासन र स्थानीय संस्थागत क्षमतामा केन्द्रित विकास दीर्घकालीन परिवर्तनका आधार हुन्। उनले अन्तर्राष्ट्रिय साझेदारीलाई ‘one-size-fits-all’ दृष्टिकोणभन्दा परि, स्थानीय सन्दर्भ र आवश्यकता अनुसार ढाल्नुपर्ने कुरा पनि स्पष्ट पारेकी छन्।

विशेषत, नेपालको संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको भए पनि व्यवहारमा अझै केन्द्रीय सोच हावी रहेको बताउँदै उनले स्थानीय आवाजको महत्व वैश्विक मञ्चमा प्रस्तुत गरिन्। यसले नेपाललाई केवल सहयोग लिने देश नभई अनुभव र दृष्टि बाँड्न सक्ने साझेदार राष्ट्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछ।

सुनीता डंगोलको यो सहभागितालाई व्यक्तिगत उपलब्धि मात्र नभई, नेपालको स्थानीय लोकतन्त्रको आत्मविश्वास र विश्वव्यापी अभिव्यक्तिको रुपमा लिइएको छ ।

 
 
सोमबार, २९ मंसिर २०८२, १३ : १३

प्रतिक्रिया