ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमण लज्जास्पद र घृणित : सिबिफिन

सोमबार, २९ मंसिर २०८२, १६ : ४५

काठमाडौं- सप्तरीको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि प्रवाहित कर्जासम्बन्धी छलफलका क्रममा अर्धन्यायिक निकायको नेतृत्वमा रहेका व्यक्तिहरूले नियोजित रुपमा घण्टौंसम्म कब्जामा राख्दै घृणित र हिंस्रक व्यवहार गरेको घटनाप्रति सिबिफिनले कडा आपत्ति प्रकट गरेको छ।

सिबिफिनले घटनालाई अत्यन्त लज्जास्पद, पशुवत र अस्वीकार्य व्यवहार भएको भन्दै घोर भत्र्सना गरेको छ। घटना लगत्तै स्थानीय सुरक्षा निकायले पीडितको जाहेरी दर्ता नगरी मिलापत्रको दबाब दिएकोप्रति समेत संगठनले कडा आपत्ति जनाएको छ। निहित स्वार्थका लागि बैंक तथा वित्तीय संस्था जस्ता संवेदनशील क्षेत्रमाथि गरिएको यस्तो आक्रमणले कर्मचारीको मनोवैज्ञानिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने हुँदा दोषीलाई हदैसम्मको कारबाहीको माग गरिएको छ। 

सिबिफिनले भनेको छ, ‘बैंकिङ क्षेत्रका कर्मचारीमाथि गरिएको आक्रमण केवल व्यक्तिगत वा संस्थागत मात्र नभई नेपाल सरकारमाथिको पनि प्रत्यक्ष चुनौती हो। बैंक तथा वित्तीय संस्थाको साख, गरिमा र सम्पत्तिमा हानि पुर्‍याउने वा व्यवसायमा अवरोध सिर्जना गर्ने कुनै पनि प्रयास संवेदनशील रूपमा हेरिनुपर्छ।’

त्यस्तै, बैंकमा गुनासो भए कानूनअनुसार व्यवस्थापन वा नेपाल राष्ट्र बैंकको उजुरी सुनुवाइ इकाइमार्फत समाधान सम्भव हुँदाहुँदै पनि आफ्नै हातमा कानून लिएर घटाइने यस्ता कार्यले मुलुकको बैंकिङ वातावरण र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी सिबिफिनले दिएको छ।

सिबिफिनले संघीय, प्रदेश, स्थानीय सरकार र गृह मन्त्रालयसहित सबै जिम्मेवार निकायमा बैंक तथा वित्तीय संस्था र कर्मचारीहरुको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न अपील गरेको छ।

 
सोमबार, २९ मंसिर २०८२, १६ : ४५

प्रतिक्रिया