घाइते लडाकुको निधनले गृहजिल्ला शोकमा रहँदा प्रचण्डले मनाए तामझामपूर्ण जन्मदिन, पार्टीभित्रै असन्तोष

सोमबार, २९ मंसिर २०८२, २२ : ००

चितवन- जनमुक्ति सेनाका घाइते योद्धा रामकुमार पौडेल ‘अच्युत’को प्रचण्डकै गृहजिल्ला चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा निधन भएर जिल्लामा पूरै शोक मनाइरहेकै दिन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको आफन्तको एक भव्य महलमा विवादित व्यक्तिहरूको उपस्थितिमा महँगो केक काटेर जन्मदिन मनाएको घटनाले पार्टीभित्र र बाहिर तीव्र आलोचना भएको छ ।

जनयुद्धकालमा प्रचण्डकै आव्हानमा घाइते भएका अच्युत उपचार खर्च अभावका कारण सामाजिक सञ्जालमार्फत सहयोगको याचना गर्दै आएका थिए । 

उक्त दिन प्रचण्डको जन्मदिन समारोहमा सुण्डमुसुण्ड, चुम्बनलगायत विभिन्न विवादमा मुछिएका पात्रहरूको सहभागिता रहेको बताइन्छ । कम्युनिस्ट आन्दोलनका आदर्श सादगी, जनमुखी व्यवहार र बलिदानी योद्धाप्रतिको सम्मानसँग मेल नखाने शैली अपनाइएको भन्दै आलोचना भएको हो ।

यता, भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्डकी छोरी रेणु दाहाल भने निर्माणपूर्वदेखि नै विवादित क्रिकेट रंगशाला प्रकरणमा धुर्मुस–सुन्तली फाउन्डेसनसँग जोडिएको करोडौँको आर्थिक लेनदेनबारे स्पष्टीकरण दिइरहेकी थिइन् । जनयुद्धका घाइते सेनानी उपचारका लागि अपिल गरिरहँदा महानगर नेतृत्व विवादित करौडोका परियोजनाको लफडामा फसेकी थिइन । घाइतेका परिवार उनलाई बचाउनका लागि केही लाखको खोजीमा चौतर्फी भिख मागिरहेका थिए ।

जन्मदिन मनाउने आ–आफ्नै संस्कृति र परम्परा हुने भए पनि केक काट्ने, मैनबत्ती निभाउने र तामझाम गर्ने शैली नेपाली समाजको मौलिक संस्कृति हुँदै होइन । आफूलाई कम्युनिस्ट र भौतिकवादी दाबी गर्ने नेताले मैनबत्ती निभाउँदा ‘शत्रु भगाएको’ भन्ने अन्धविश्वाससमेत बोकेको प्रतीकात्मक कर्मकाण्ड पछ्याउनु थप विवादास्पद बनेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार, नयाँ पुस्ता (जेन–जी) उदाए पनि शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डजस्ता शीर्ष नेताहरूको जीवनशैली र राजनीतिक व्यवहारमा खासै परिवर्तन देखिएको छैन । बलिदान, मूल्य र नैतिकताको राजनीतिबाट शक्ति, तामझामको राजनीति गरिरहने तरिकाले दलहरूका शीर्ष नेता रूपान्तरण नहुने ठोकुवा गरेका छन् ।

 
 
सोमबार, २९ मंसिर २०८२, २२ : ००

प्रतिक्रिया