फाइल फाेटाे
काठमाडौं- काठमाडौं उपत्यकाका तीन मुख्य सहर काठमाडौं, भक्तपुर र ललितपुरको स्थापना दिवसको अवसरमा भक्तपुर सहरको ऐतिहासिक, सांस्कृतिक तथा जल–सम्पदा संरक्षणको महत्व उजागर गर्ने उद्देश्यसहित “भक्तपुर ३३ पोखरी परिक्रमा पदयात्रा” नामक स्मरणात्मक कार्यक्रम आयोजना हुने भएको छ।
उक्त पदयात्रा २०८२ पुस ५ गते, शनिबार बिहान १०स्०० बजे भक्तपुरको च्याम्हासिँह पुखू (गायक कुम्ह सागरको घर अगाडि) बाट प्रारम्भ हुनेछ। कार्यक्रममार्फत भक्तपुर सहरभित्र रहेका ऐतिहासिक ३३ पोखरीहरूको सांस्कृतिक, सामाजिक तथा वातावरणीय महत्वबारे जनचेतना अभिवृद्धि गर्ने, स्थानीय सम्पदाको संरक्षणमा सामुदायिक सहभागिता बढाउने तथा विद्यार्थी–नेतृत्वमा सिकाइ–आधारित पर्यटन अभ्यासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
पदयात्रामा सहभागी हुने व्यक्तिहरूका लागि अनुभवी गाइड सेवा, दिउँसो नेवारी खाजा ९सम्हे बजी सेट र दही० तथा घरेलु उद्योग प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। पदयात्रा सहयोग शुल्क रु १,०००र( प्रति व्यक्ति तोकिएको छ। वातावरण संरक्षणलाई ध्यानमा राख्दै प्रवेश पत्र पुनःप्रयोग गरिएको कागजमा छापिने जनाइएको छ।
यस शैक्षिक, सांस्कृतिक तथा वातावरणीय महत्व बोकेको कार्यक्रममा वडा तहबाट आवश्यक समन्वय, सहजीकरण, सूचनाको प्रसार तथा स्थानीय सहभागिता अभिवृद्धिका लागि सहयोग गर्न आयोजकले सम्बन्धित सबै निकाय तथा जनप्रतिनिधिसमक्ष अपिल गरेको छ। वडा प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाउने आयोजकको विश्वास छ।
प्रतिक्रिया