काठमाडौं- नेपाल राष्ट्र बैंकले ज्योति विकास बैंकको सप्तरीस्थित रुपनी शाखाका कर्मचारीमाथि भएको हातपात र दुर्व्यवहारको घटनाको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।
राष्ट्र बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हुने गैरजिम्मेवार क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पछिल्लो समय बैंकका कर्मचारीमाथि भौतिक आक्रमण र धम्कीका घटना बढ्न थालेपछि केन्द्रीय बैंकले कडा शब्दमा चेतावनी दिँदै त्यस्ता गतिविधिमा संलग्नलाई कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।
राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा बैंकिङ प्रणालीको यथार्थ बुझिदिन सर्वसाधारणलाई आग्रह गरिएको छ । बैंकले प्रवाह गर्ने कर्जा भनेको सर्वसाधारणले जम्मा गरेको निक्षेप ९बचत० रकम नै भएको र उक्त रकम सुरक्षित फिर्ता गर्न ऋणीले लिएको कर्जा नियमित रूपमा तिर्नुपर्ने दायित्व रहेको राष्ट्र बैंकले स्मरण गराएको छ ।
‘बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गर्ने भएकाले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ,’ राष्ट्र बैंकले भनेको छ ।
कुनै ऋणीलाई प्रतिकूल परिस्थितिका कारण ऋण तिर्न असहज भएको खण्डमा राष्ट्र बैंकले समय(समयमा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिँदै आएको पनि जनाएको छ ।
कुनै गुनासो भएमा सम्बन्धित बैंक वा नेपाल राष्ट्र बैंकमा उजुरी गर्ने व्यवस्था रहेको स्मरण गराउँदै, बैंक–कर्मचारीमाथि गैरजिम्मेवार व्यवहार वा उच्छृङ्खल गतिविधिमा संलग्न हुने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ। साथै, वित्तीय क्षेत्रका कर्मचारीको मनोबल उच्च राखेर काम गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।
प्रतिक्रिया