काठमाडौं- एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका बेलामा जनाएको प्रतिबद्धता बमोजिम देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दुई हजार ४२८ ओटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ ।
एनसेलले एनपीएल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारमा चारओटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो ।
यो वर्षको एनपीएलका क्रममा ९९ जना खेलाडीले कुल ६०७ ओटा चौका प्रहार गरेका थिए, जसका आधारमा एनसेलले आफ्नो प्रतिबद्धताबमोजिम दुई हजार ४२८ ओटा शैक्षिक सामग्रीको वितरण गर्ने भएको हो ।
एनपीएलको यो सिजनमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ ओटा चौका प्रहार गरेका थिए । त्यस्तै, लुम्बिनी लायन्सका डार्सी सर्टले २६, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले २३ चौका प्रहार गरेका थिए ।
विद्यार्थीहरूलाई आवश्यक शैक्षिक स्रोतको अभावको समस्या समाधान गरी सिकाइमा सहयोग पुर्याउन एनसेलले यो कदम चालेको हो । एनसेलले प्रदान गर्ने प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेसनरी सामग्रीहरू राखिएका हुन्छन् ।
'यस अर्थपूर्ण सामाजिक पहलमा योगदान पुर्याउनु हुने सबै खेलाडीहरूलाई हामी हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौं । उहाँहरूको प्रदर्शनले मैदानमा आफ्ना टिमलाई मात्र सशक्त बनाएको छैन, हरेक चौकाले विद्यार्थीको पठनपाठनमा पनि सहयोग पुर्याएको छ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक बिषाखा लक्ष्मी खड्काले भनिन्, 'गत वर्षझैं यस वर्ष पनि सम्बन्धित सरोकारवालाहरूसँग सहकार्य गर्दै यस्ता स्रोतको सबैभन्दा बढी आवश्यक पर्ने सरकारी विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी यी शैक्षिक सामग्रीहरू वितरण गर्नेछौं ।'
यस वर्ष पनि एनसेल एनपीएलको ‘पावर्ड बाइ’ साझेदार रहेको थियो । कम्पनीले दोस्रो संस्करणका प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो ।
साथै, एनसेलले दोस्रो संस्करणमा सबैभन्दा बढी चौका हान्ने पोखरा एभेन्जर्सका एडम रोसिङ्टनलाई २ लाख रुपैयाँ पुरस्कारसमेत दिएको थियो ।
प्रतिक्रिया