तनहुँ जिल्ला प्रशासनद्वारा तीन महिनामा एक करोड राजस्व संकलन, ४३४ गुनासा फर्छ्यौट

मंगलबार, ०८ पुस २०८२, ११ : ३५

काठमाडौं- जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले संघसंस्था दर्ता र नवीकरण, हातहतियार नवीकरण र नामसारी, राहदानी दस्तुरलगायतबाट रु एक करोड १८ लाख १५ हजार ८८५ राजस्व सङ्कलन भएको जानकारी दिए । 

उनका अनुसार संघसंस्था दर्ता नवीकरणबाट रु दुई लाख पाँच हजार ७००, हातहतियार नवीकरण र नामसारीबाट रु तीन लाख दुई हजार २५०, राहदानी दस्तुरबाट रु एक करोड ११ लाख ५८ हजार, न्यायिक दण्ड जरिवानाबाट रु एक लाख ३५ हजार ४३५ राजस्व संकलन भएको छ ।

४३४ गुनासा फर्छ्यौट 

चालु आवको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालयमा ६१९ गुनासो दर्ता भएका छन् । विभिन्न माध्यमबाट कार्यालयमा गुनासो दर्ता गरिएको हो । प्रजिअ अधिकारीले सबैभन्दा बढी नागरिक एपमार्फत ५७२ गुनासो प्राप्त भएको जानकारी दिए । त्यस्तै कार्यालयमा निवेदनमार्फत ३४ र निमायक निकायबाट १३ गुनासो प्राप्त भएको उनले बताए । गुनासोमध्ये ४३४ गुनासो फर्छ्यौट गरिसकिएको उनले जानकारी दिए । 

सेवाग्राहीका सहजताका लागि कार्यालयले क्युआरकोडमार्फत गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरेपनि क्युआरकोडमार्फत कुनै पनि गुनासो नआएको प्रजिअ अधिकारीको भनाइ छ । त्यस्तै हेलो सरकारमार्फत पनि गुनासो प्राप्त भएको छैन । 

प्रजिअ अधिकारीका अनुसार नागरिक एपमार्फत प्राप्त गुनासोमध्ये ३८७, कार्यालयमा निवेदन प्राप्तमध्ये ३४ र निमायक निकायमार्फत प्राप्त गुनासोमध्ये १३ गुनासो फर्छ्यौट भएका छन् । 

 
मंगलबार, ०८ पुस २०८२, ११ : ३५

प्रतिक्रिया