काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र संरक्षण, उद्यमशीलता प्रवद्र्धन र आर्थिक समृद्धिका लागि साझा पहल आवश्यक भएको बताएका छन्।
महासंघले आज पुस १६ गते आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ शीर्षकको सर्वपक्षीय राष्ट्रिय संवादमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
उनले भदौ २३ र २४ का आन्दोलनका क्रममा निजी क्षेत्र प्रभावित भएको र आगजनी तथा तोडफोडले करिब ४० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति पुगेको र कारबाहीको माग गरेको बताए । साथै, निजी क्षेत्र प्रभावित भएको डेडिकेटेड टंकलाइन सम्बन्धी विवाद समाधानका लागि पनि आग्रह गरेकोमा प्रधानमन्त्री शुशिला कार्कीले समाधान उन्मुख पहल गरेको बताए ।
उनले निजी क्षेत्रको मनोबल उच्च राख्न सरकार र राजनीतिक दलसँग द्रुत कदम चाल्न आग्रह गर्दै स्थायी निर्वाचन, राजनीतिक स्थायित्व र उद्यमशीलता विकासका लागि साझा प्रतिबद्धता आवश्यक भएको बताएका छन्।
अध्यक्ष ढकालले निजी क्षेत्रले मुलुकको रोजगारी र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै लगानी, पूर्वाधार विकास र रोजगारी सिर्जना गर्न सहज वातावरणको आवश्यकता औंल्याए। उनले सरकारले पारित गरेको निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीतिलाई कार्यान्वयनमा ल्याउन जोड दिएका छन्।
त्यसैगरी, युवा (जेनजी) पुस्तालाई उद्यमशीलता र भ्रष्टाचारमुक्त समाज निर्माणमा सक्रिय सहभागिताका लागि आमन्त्रण गर्दै ढकालले सरकारले र निजी क्षेत्रले मिलेर देशको आर्थिक समृद्धिमा योगदान पुर्याउनुपर्ने आवश्यकता औंल्याए।
निजी क्षेत्रलाई सम्मान, सुरक्षा र लगानीको प्रत्याभूति दिएर मुलुकमा समृद्धि र स्थायित्व सुनिश्चित गर्न सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको ढकालको भनाइ छ ।
प्रतिक्रिया