काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ५ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको ५ अर्ब १ करोड १६ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो।
यसका लागि बैंकहले पुस २२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न सक्नेछन्। कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ४ अर्ब ९४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ७५ करोड १७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २५ करोड ५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।
निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद तरल सम्पति केन्द्रीय बैंकले तोकेको न्यूनतम् सीमा ३ प्रतिशत कायम गरेको हुनुपर्ने लगायतका शर्त तोकिएको छ।
यो लगानी सन् २०२६ जनवरी १८ देखि २०२७ जनवरी १८ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया