काठमाडौं- नेपाल टेलिकमको भ्यालु एडेड सर्भिस (भास) प्रणालीमा आवद्ध भई एसएमएसमा आधारित सेवा प्रवाह गरिरहेका केही सेवा प्रदायकले आफ्नो स्वीकृत व्यापारिक उद्देश्यभन्दा फरक राजनीतिक प्रकृतिका सन्देश टेलिकमका सेवाग्राहीका मोबाइल नम्बरमा पठाएको पाइएको छ । यसबारे सेवाग्राहीबाट गुनासो प्राप्त भएपछि नेपाल टेलिकमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल टेलिकमले विभिन्न व्यापार तथा व्यवसायको प्रवर्द्धनका लागि मात्र एसएमएस सेवा प्रवाह गर्न सेवा प्रदायकहरुलाई स्वीकृति दिने गरेको स्पष्ट पार्दै, कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण आफूले उपलब्ध नगराउने जनाएको छ ।
टेलिकमले सम्बन्धित सेवा प्रदायकलाई जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने किसिमका सन्देश प्रवाह नगर्न सचेत गराइसकेको छ । साथै, आगामी दिनमा पनि यस प्रकारका सन्देश सर्वसाधारणका मोबाइल नम्बरमा नपठाउन सबै सेवा प्रदायकलाई कडाइका साथ अनुरोध गरेको छ ।
नेपाल टेलिकमले सेवाग्राहीको गोपनियताप्रति सदैव संवेदनशील रहेको र भविष्यमा पनि गोपनियताको सम्मान तथा संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया