काठमाडौं- नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा करिब ३२ अर्ब ६१ करोड रुपैयाँको मोबाइलको कारोबार भएको छ ।
यस अवधिमा भन्सार मूल्य २३ अर्ब २९ करोड रुपैयाँ बराबरका १२ लाख ५२ हजार वटा मोबाइल आयात भएका छन् । यस आयातमा नेपालमा हुने बिक्री मूल्य ४० प्रतिशतसम्म जोडिने मूल्य थप ९ अर्ब ३१ करोड रुपैयाँ जोड्दा ३२ अर्ब रुपैयाँको कारोबार भएको हो ।
मोबाइल आयातबाट राज्यले ४ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत वर्षको पहिलो छ महिनामा १६ अर्ब ७१ करोड रुपैयाँ भन्सार मूल्यको ११ लाख ११ हजारवटा मोबाइल आयात भएको थियो । गत वर्ष पहिलो ६ महिनामा २३ अर्ब ३९ करोड रुपैयाँको मोबाइल कारोबार भएको देखिन्छ । जसअनुसार गत वर्षको तुलनामा यो वर्ष ३९ प्रतिशतले मोबाइलको कारोबार बढेको हो ।
नेपाल भित्रिएका मोबाइलमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशतका दरले अन्तशुल्क लाग्छ । यो रकमलाई मोबाइल व्यवासायीले एकमुष्ट रुपमा मोबाइल आयात गरेवापत सरकारलाई १८.६५ प्रतिशत राजस्व तिर्छन् । नेपाल भित्रिएका मोबाइलमा आयातकर्ताले र बिक्रेताले राख्ने ५.५ प्रतिशतको मार्जिन, होलसेल हुँदै रिटेलसम्म पुग्दा जोडिने थप मार्जिन जोडिन्छ । यस्तै उपभोक्तासम्म पुग्दा थप ४० प्रतिशतसम्म मूल्य जोडिने गरेको छ ।
पछिल्लो समय भित्रिएको मोबाइलमा २०-२५ देखि ३०-३५ हजार रेन्जका मोबाइलको खपत धेरै देखिएको व्यवसायीहरुले बताएका छन् ।
यस्तै, औसतमा २५ देखि ३० हजार रुपैयाँको मोबाइल प्रयोग तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया