बजारमा नक्कली नोटको बिगबिगि, राष्ट्र बैंक उदासिन

शुक्रबार, १६ माघ २०८२, १५ : २५

काठमाडौं– देशको अर्थतन्त्रलाई नै धरापको बाटोमा धकेल्ने नक्कली नोटहरु दिनानुदिन राजधानी काठमाडौँसहित विभिन्न स्थानबाट बरामद भैरहँदा पनि नियामक निकाय नेपाल राष्ट्र बैंकले अपेक्षित सक्रियता देखाउन सकेको छैन । अहिले नेपाली बजारमा नक्कली (खोटा)नोट बरामद हुने क्रम निरन्तर बढ्दो क्रममा रहेको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्ग अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा १३ लाख ८५ हजार ९५० रुपैयाँ भन्दा बढी नक्कली नोट प्रहरीले बरामद गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४३।०८ प्रतिशत अर्थात् ४ लाख १७ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्ष २०८१।०८२ मा नौ लाख ६८ हजार ६४४ रुपैयाँ नक्कली नोट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नक्कली नोट कारोबार पुरुषको संख्या धेरै देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा प्रहरीले ३० जना नेपाली पुरुष र १ जना नेपाली महिनालाई नियन्त्रणमा लिएको छ । यता, विदेशी पुरुष ९ जना प्रहरीको पक्राउ रहेको छ । यसअवधिमा २३ जना विरुद्ध मुद्धा दायर भएको हो ।

छिटो धनी बन्ने मोहले नेपाली बजारमा नक्कली नोटको कारोबार बढ्न थालेको छ । विशेषगरी भारतसँग सीमा जोडिएका जिल्लाहरूमा ठूला गिरोह सक्रिय रहेको आशंकासहित प्रहरीले निगरानी कडा बनाएको छ । सीमावर्ती क्षेत्रहरूमा खोटा नोटले व्यापारिक कारोबारमा अवरोध मात्रै होइन नागरिकहरूको आर्थिक सुरक्षामाथि नै प्रश्न उठाउन थालेको छ । असली र नक्कली छुट्याउन नसकेर सर्वसाधारण ठगिन थालेका छन्, जसले नेपाली रुपैयाँप्रतिको जनविश्वासमा गम्भीर असर पारिरहेको छ ।

नक्कली नोट सम्बन्धी जति प्रहरीले अनुसन्धान गर्नुपर्ने हो त्यो भन्दा बढी नेपाल राष्ट्र बैंकले गर्नुपर्छ । तर, नक्कली नोटको कारोबार रोक्न नेपाल राष्ट्र बैंकको भुमिका अभिभावकीय देखिदैन । मुद्रा व्यवस्थापन र मौद्रिक सुरक्षाको प्रमुख अभिभावक निकायका रूपमा राष्ट्र बैंकले खोटा नोटको पहिचान, नियन्त्रण र निस्तेजीकरणमा अग्रसरता लिनुपर्ने हो, तर हालसम्म देखिएको अवस्था प्रहरीको अनुसन्धानमै सीमित छ । नक्कली नोटले देशको आर्थिक सन्तुलनमा पार्न सक्ने दीर्घकालीन असरलाई हेर्दा यो केवल आपराधिक घटना मात्रै नभई मौद्रिक संप्रभुतासँग जोडिएको संवेदनशील विषय हो । तर, राष्ट्र बैंकको ध्यान यता तिर गएको देखिदैन ।

 
शुक्रबार, १६ माघ २०८२, १५ : २५

प्रतिक्रिया