केयुकेएलमा डिजिटल भुक्तानी प्रणाली लागू

शुक्रबार, २३ माघ २०८२, १३ : ०४

काठमाडौं - आफ्ना सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा भुक्तानी प्रणालीलाई डिजिटल माध्यममा रूपान्तरण गरेको छ । केयुकेएलले एनसीएचएलसँग सम्झौता गरी आफ्ना भुक्तानीसम्बन्धी कारोबारलाई स्वचालित बनाउँदै एनसीएचएलको भुक्तानी प्रणाली प्रयोगमार्फत डिजिटल भुक्तानी सुरु गरेको हो ।

सम्झौतापत्रमा केयुकेएलका तर्फबाट कार्यकारी निर्देशक अशोक कुमार पौडेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि केयुकेएलको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिएको छ । यसमार्फत केयुकेएलले एनसीएचएल–आईपीएस तथा आरपीएस प्रणाली प्रयोग गरी तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष तथा नागरिक लगानी कोषसम्बन्धी भुक्तानी डिजिटल माध्यमबाट गर्न सक्नेछ ।

केयुकेएलले काठमाडौं उपत्यकाभित्र खानेपानी तथा ढल व्यवस्थापन सेवाको सञ्चालन र व्यवस्थापन गर्दै आएको छ । सेवाप्रवाहमा सुधार ल्याउने उद्देश्यसहित संस्थाले लामो समयदेखि आवश्यक रहेको डिजिटलाइजेसन अभियानलाई तीव्रता दिँदै बिलिङ तथा भुक्तानी प्रक्रिया स्वचालित बनाउने पहल गरेको जनाएको छ ।

डिजिटल भुक्तानी प्रणाली लागू भएसँगै केयुकेएलको सेवा प्रवाह थप छरितो, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

शुक्रबार, २३ माघ २०८२, १३ : ०४

प्रतिक्रिया