काठमाडौं- डिजिटल बैकिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा असुरक्षित इन्टरनेट नेटवर्कमार्फत गरिने कारोबारले वित्तीय जोखिम बढाउने देखिएको भन्दै नेपाल राष्ट्र बैंकले प्रयोगकर्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
बैंकका अनुसार सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि अनसेक्योर्ड वाइफाइ नेटवर्क प्रयोग गर्दा प्रयोगकर्ताको बैंकिङ विवरण अनधिकृत व्यक्तिको पहुँचमा पुग्न सक्ने जोखिम रहन्छ। यस्ता खुला नेटवर्कमा ह्याकर तथा वित्तीय अपराधी सक्रिय हुन सक्ने र पासवर्ड, पिन, ओटीपीजस्ता संवेदनशील विवरण चोरी भई दुरुपयोग हुन सक्ने खतरा रहेको केन्द्रीय बैंकको भनाइ छ।
राष्ट्र बैंकले अनलाइन बैंकिङ प्रयोग गर्दा सम्बन्धित बैंकको आधिकारिक वेबसाइट वा एप्लिकेसन मात्र प्रयोग गर्नुपर्ने स्पष्ट पारेको छ। साथै, कारोबारमा प्रयोग हुने पासवर्ड र पिन कोड समय–समयमा परिवर्तन गर्नुपर्ने तथा ती विवरण कसैसँग पनि साझा नगर्नु अत्यावश्यक रहेको जानकारी दिएको छ।
यस्तै क्याफे, होटल, विमानस्थल, शपिङ मलजस्ता सार्वजनिक स्थानमा उपलब्ध वाईफाई प्रयोग गरी विद्युतीय बैंकिङ कारोबार गर्दा जोखिम उच्च हुने भएकाले यस्ता नेटवर्कबाट सम्भव भएसम्म टाढा रहन राष्ट्र बैंकले सचेत गराएको छ ।
प्रतिक्रिया