सात महिनामा ४० अर्ब २८ करोड माथिको वैदेशिक लगानी प्रतिबद्धता, साना उद्योगमा बढ्यो आकर्षण

आइतबार, ०३ फागुन २०८२, १४ : ०२

सात महिनामा ४० अर्ब २८ करोड माथिको वैदेशिक लगानी प्रतिबद्धता

 

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा ४० अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ५ सय २४ परियोजनामा ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको हो ।

सबैभन्दा धेरै साना उद्योगमा लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ । सात महिनामा सबैभन्दा धेरै कृषिका १४ परियोजनामा २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

पर्यटन क्षेत्रका १ सय ५० परियोजनामा १० अर्ब ८६ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने उत्पादनमूलक ३५ परियोजनामा दुई अर्ब ४० करोड ६६ लाख ४४ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

त्यस्तै, सेवामूलक ३४ वटा परियोजनामा तीन अर्ब ५४ करोड ८० लाख रुपैयाँ र २ सय ८८ वटा सूचना प्रविधिमूलक परियोजनामा एक अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । यस्तै, २ वटा खनिजजन्य परियोजनामा ११ करोड ५० लाख र एउटा ऊर्जामूलक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । 

यस अवधिमा अटोमेटिक रुटबाट ३ अर्ब २५ करोड र अप्रुभल रुटबाट ३७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे १३ अर्ब रुपैयाँले धेरै हो । 

विभागकाअनुसार माघसम्म वैदेशिक लगानीका ५ सय २५ उद्योग दर्ता भएका छन् । 

 
आइतबार, ०३ फागुन २०८२, १४ : ०२

प्रतिक्रिया