काठमाडौं- गुरु ट्राभल्स लिमिटेड र इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रा.लि.बीच व्यावसायिक सहकार्य हुने भएको छ ।
नेपालको पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स र इन्टरनेट क्षेत्रमा स्थापित क्लासिक टेकबीच दुवै संस्थाका कर्मचारी तथा सरोकारवालाहरूलाई विशेष सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।समझदारीपत्रमा क्लासिक टेकका चिफ बिजनेस डेभलपमेन्ट अफिसर रोजित भट्टराई र गुरु ट्राभल्सका चिफ अपरेटिङ अफिसर अनिल धरेलले हस्ताक्षर गरेका छन् ।
यस सहकार्यले पर्यटन र सूचना प्रविधि क्षेत्रको एकीकृत विकासमा टेवा पुग्ने दुवै पक्षको विश्वास रहेको छ । सम्झौताअनुसार गुरु ट्राभल्सले क्लासिक टेकका कर्मचारी र सरोकारवालाहरूलाई अन्तर्राष्ट्रिय भ्रमण प्याकेजमा १० हजार रुपैयाँसम्म, आन्तरिक प्याकेजमा २.५ प्रतिशत र आन्तरिक हवाई टिकटमा प्रति टिकट ५० रुपैयाँ नगद छुट उपलब्ध गराउनेछ ।
बदलामा क्लासिक टेकले गुरु ट्राभल्सका कर्मचारीहरूलाई इन्टरनेट प्याकेज, कर्पोरेट कम्युनिकेसन र डिजिटल समाधानहरूमा १५ प्रतिशत छुट (कर बाहेक) प्रदान गर्ने सहमति भएको छ । यसबाहेक दुवै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न गतिविधिहरूमा समेत मिलेर काम गर्ने सहमति गरेका छन् । कार्यक्रममा बोल्दै क्लासिक टेकका रोजित भट्टराईले यस सहकार्यबाट ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै पर्यटन क्षेत्रको डिजिटल प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने बताए ।
त्यस्तै, गुरु ट्राभल्सका अनिल धरेलले क्लासिक टेकको प्रविधिसँग जोडिएर ट्राभल व्यवसायलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउन यो सम्झौताले नयाँ आयाम थप्ने उल्लेख गरे।
प्रतिक्रिया