तोरी उत्पादनको केन्द्र बन्दै दाङ

बुधबार, ०६ फागुन २०८२, १२ : ३९

काठमाडौं - दाङ आफैमा भित्री मधेशमा पर्ने एक उर्वर भूमि भएको ठाउँ हो । धान, मकै, गहुँ जस्ता प्रमुख अन्नबालीको भण्डार मानिने दाङमा पछिल्ला वर्षहरूमा तोरीखेती उल्लेख्य रूपमा विस्तार हुँदै गएको छ। किसानको बढ्दो आकर्षणसँगै तोरीको क्षेत्रफल र उत्पादन दुवै बढ्दैे गएको हो ।

कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार दाङको तोरी जिल्लाको पहिचानकै रूपमा स्थापित हुँदै गएको छ । यहाँ उत्पादन भएको तोरीको तेलको माग अन्य जिल्लामा उच्च रहेको छ। विशेषगरी काठमाडौं, पोखरा, चितवन र नेपालगन्जमा दाङको तोरीको माग उल्लेखनीय रहेको बताइएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दाङअन्तर्गत सञ्चालन भइरहेको तोरी जोन कार्यक्रमले पनि उत्पादन वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ। आर्थिक वर्ष २०७९र८० मा १ हजार२०० हेक्टर क्षेत्रफलमा गरिएको तोरीखेतीबाट १ हजार ९ सय ३२ मेट्रिक टन उत्पादन भएको थियो। त्यसपछि क्रमशः उत्पादन वृद्धि हुँदै गएको देखिन्छ ।

आर्थिक २०८१/८२ मा एक हजार २४२ हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार १२३।८२ मेट्रिक टन उत्पादन भएको हो । आर्थिक २०८२/८३ मा एक हजार २७८.०२ हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार १९८.१९ मेट्रिक टन उत्पादन भएको छ ।  हाल प्रतिहेक्टर उत्पादकत्व १.७२ मेट्रिक टन पुगेको छ। तोरी जोन पश्चिम दाङका दङ्गीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिकाका केही वडामा सञ्चालनमा रहेको छ। यहाँ उन्नत जातका बीउ प्रयोग गरिँदै आएको छ भने किसानलाई ५० प्रतिशत बीउ अनुदान, प्राविधिक सहयोग तथा प्रविधिमा समेत सहुलियत उपलब्ध गराइँदै आएको परियोजनाका प्राविधिक सहायक सूर्यज्योति केसीले जानकारी दिनुभयो।

तोरीखेती छोटो अवधिमा उत्पादन लिन सकिने बाली भएकाले गहुँखेती गर्ने किसानहरू समेत यसतर्फ आकर्षित भएका छन्। विशेषगरी शान्तिनगर, बबई र दङ्गीशरण क्षेत्रमा व्यावसायिक रूपमा तोरीखेती गर्ने किसानको सङ्ख्या बढ्दो क्रममा रहेको छ। किसानहरूले हाल प्रतिक्विन्टल करिब १४ हजार रुपैयाँमा तोरी बिक्री गर्दै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 
बुधबार, ०६ फागुन २०८२, १२ : ३९

प्रतिक्रिया