काठमाडौं- नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाई तथा भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवको उपस्थितिमा सो समझदारी पत्रमा बुधबार नयाँदिल्लीमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा र भारतका तर्फबाट वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सचिव तन्मय कुमारले हस्ताक्षर गरेका थिए । उक्त अवसरमा नेपाल र भारत सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको वन मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले जानकारी दिए ।
नेपाल र भारत संयुक्त राष्ट्र सङ्घअन्तर्गत जैविक विविधतालगायत विभिन्न वातावरण संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको पक्षराष्ट्र हुन् । दुवै राष्ट्रको सीमा जोडिएको क्षेत्रमा संरक्षित क्षेत्र र जैविक मार्ग रहेका तथा ती क्षेत्रमा हात्ती, गैंडा र बाघलगायत थुप्रै वन्यजन्तुले स्वतन्त्र र निर्वाध रूपमा सीमा वारपार गर्ने गर्छन् ।
त्यसैले दुवै देशले संरक्षित क्षेत्र, जैविक विविधता र वन्यजन्तुको अपराध नियन्त्रणको क्षेत्रमा एक आपसमा समन्वय र सहकार्य गर्न, जैविक विविधतासम्बन्धी साझा रणनीति अवलम्बन गर्न, ‘फिल्ड’मा कार्यरत कर्मचारीको क्षमता विकास गर्न यस समझदारीपत्रले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया