ऊर्जा विकासमा सहकार्य गर्ने नेपाल र भारतबीच सहमति

मंगलबार, १९ फागुन २०८२, १३ : २३

 काठमाडौँ - नेपाल सीमापार विद्युत् व्यापार, नवीकरणीय ऊर्जा विकास र प्रसारण पूर्वाधारमा सहयोग सुदृढ गर्ने उद्देश्यले नेपालको पावर ट्रेड एन्ड इनर्जी एक्सचेन्ज लिमिटेड र भारतका दुई कम्पनी इनर्जी इज पावर ट्रेडिङ कम्पनी लिमिटेड र नांगिया एलएलसीबीच  एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यो सम्झौताले आन्तरिक तथा सीमापार विद्युत् व्यापार, नेपालमा जलविद्युत् र सौर्य ऊर्जा परियोजनाहरूको विकास, आयोजना फाइनान्सिङ, प्रसारण लाइनमा लगानी र परामर्श सेवाहरूमा सहकार्य अभिवृद्धि गर्ने लक्ष्य राखेको समझदारीपत्रमा उल्लेख छ ।  

पावर ट्रेड एन्ड इनर्जी एक्सचेन्ज लिमिटेडले विद्युत् व्यापारको अनुमतिपत्र पाइनसके पनि भारतका यी दुई कम्पनीसँग विद्युत् व्यापार र संयुक्त परियोजना विकास गर्ने समझदारी गरेका हुन् । यसअघि सन् २०२२ मा नेपालको निजीक्षेत्रले प्रवर्द्धन गरेको नेपाल पावर एक्सचेन्ज लिमिटेड र भारतको मणिकरण पावर लिमिटेडबीच पनि विद्युत् व्यापार समझदारीपत्रमा हस्ताक्षर भएको थियो । ऊर्जा मन्त्रालयमा अनुमतिपत्रका लागि निवेदन दिए पनि त्यो पाइनसकेको पावर ट्रेड एन्ड इनर्जी एक्सचेन्ज लिमिटेडले बताएको छ । 

अधिकारीहरूका अनुसार यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा क्षमता विस्तार गर्ने, वैदेशिक लगानी भित्र्याउने र भारतसँगको ऊर्जा जडानलाई बलियो बनाउने प्रयासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ, जसले गर्दा क्षेत्रीय ऊर्जा सुरक्षा र दिगो विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 
मंगलबार, १९ फागुन २०८२, १३ : २३

प्रतिक्रिया