काठमाडौं– नेपालमा महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ । अध्ययनका अनुसार पुरुषभन्दा महिलामा १.३ प्रतिशत गुणाले अन्धोपना हुनसक्ने जोखिम छ । पुरुषभन्दा महिलामा मोतियाबिन्दु, उमेर–सम्बन्धित म्याकुलर डिजेनेरेसन (एएमडी) र आँखा सुक्खा आँखा हुने समस्या बढी देखिन्छन् । महिलामा आँखाको समस्या बढी हुने भए पनि उपचारमा महिलाको पहुँच निकै कम छ ।
अनुसन्धानका नतिजाले भन्छ, “विभिन्न आर्थिक तथा सामाजिक कारणले पुरुषका तुलनामा महिलामा अन्धोपनको समस्या बढी छ । नेपालमा ४० हजार बढी दृष्टिविहीन रहेकामा झन्डै ६० प्रतिशत महिला रहेका छन् ।”
दृष्टि क्षमता कम भएका मानिसमध्ये आधाभन्दा बढी महिला नै छन् । आँखा स्वास्थ्यमा महिलाको पहुँच नहुनुमा गरिबी, जनचेतनाको कमी, यातायातको असुविधा, निर्णय लिन नसक्नु, पारिवारिक जिम्मेवारी बढी, आर्थिक परनिर्भरता हुनु आदि रहेको बताइन्छ ।
अब्बल महिला नेतृत्वः आँखा स्वास्थ्य सेवामा प्रेरक योगदान
स्वास्थ्य क्षेत्र विशेषगरी आँखा स्वास्थ्य सेवाको विस्तार र अन्धोपन न्यूनीकरणमा महिलाले नेतृत्व तहमा पुगेर उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन् । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित विभिन्न आँखा अस्पतालमा कार्यरत महिला ‘चिफ मेडिकल डाइरेक्टर’, ‘मेडिकल डाइरेक्टर’ तथा अस्पताल व्यवस्थापन समितिका महिला अध्यक्षले संस्थागत विकास, गुणस्तरीय सेवा प्रवाह, जनशक्ति उत्पादन र समुदायमा पहुँच विस्तारमा प्रेरणादायी भूमिका निर्वाह गरिरहेका छन् ।
प्रा डा सविना श्रेष्ठ (अस्पताल व्यवस्थापन समिति अध्यक्ष, कीर्तिपुर आँखा अस्पताल)
प्रा डा सविना श्रेष्ठ वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा बाल नेत्ररोग क्षेत्रमा विशिष्ट दक्षता हासिल गरेकी चिकित्सक हुन् । नेपाल नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्षका रूपमा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै अस्पताल व्यवस्थापन, संस्थागत सुदृढीकरण, सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याइरहेकी छिन् ।
बंगलादेशबाट ‘एमबिबीएस’को अध्यययन गरेकी प्रा डा श्रेष्ठले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट नेत्ररोग विषयमा ‘एमडी’ तह पूरा गरेकी हुन् । साथै बाल नेत्ररोगसम्बन्धी ‘फेलोसिप’ भारतको ‘भेन्यु आइ इन्स्च्यिुट एन्ड रिसर्च सेन्टर’बाट हासिल गरेका छन् । उनको नेतृत्वमा कीर्तिपुर आँखा अस्पतालले गुणस्तरीय तथा पहुँचयोग्य आँखा सेवा प्रवाहलाई प्राथमिकता दिँदै समुदायमुखी कार्यक्रम विस्तार गरेको छ ।
आँखा सेवा कार्यक्रम, आँखा शिविर, जनचेतना अभियान तथा सामुदायिक पहुँच विस्तारमा उहाँको सक्रिय सहभागिताले ग्रामीण तथा दुर्गम क्षेत्रमा आँखाको उपचार सेवा पुग्न सहयोग पुर्याएको छ । उनी भन्छन्, “बाल नेत्ररोग तथा दृष्टि दोषसम्बन्धी समयमै पहिचान र उपचारको पहुँचमा ल्याउनुपर्छ । यसका लागि समुदाय तथा विद्यालयमा आँखा जाँचलाई थप विस्तार गरिनुपर्छ ।”
सन् २०२५ मा नेपाल नेपाल अप्थाल्मिक सोसाइटीद्वारा प्रदान गरिएको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’सहित विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मान उनले प्राप्त गरेका छन् । चिकित्सा सेवासँगै साहित्य, चित्रकला र सङ्गीतमा सक्रिय रहँदै आएकी उनी भन्छन्, “महिला शक्ति परिवर्तनको आधार हो । घर, कार्यस्थल र समाजमा हाम्रो समर्पण र नेतृत्वले नै उज्यालो भविष्य निर्माण गर्दछ । महिलाले अधिकारका लागि लड्नुभन्दा आफ्नो कार्यदक्षताबाट नै आफूलाई अगाडि बढाउनु पर्दछ, आउनुहोस् आत्मविश्वास र सहकार्यका साथ अघि बढौँ, दिएरै प्राप्त गर्ने सफलताको यात्रामा ।” समर्पण, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले प्रा डा श्रेष्ठलाई नेपालमा अन्धोपन न्यूनीकरण अभियान र महिला नेतृत्वको सशक्त उदाहरणका रूपमा स्थापित गरेको छ ।
डा सुलक्ष्मी कटुवाल (चिफ मेडिकल डाइरेक्टर, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज)
डा सुलक्ष्मी कटुवाल आँखा स्वास्थ्य सेवा क्षेत्रमा अब्बल नेत्ररोग विशेषज्ञका रूपमा स्थापित छिन् । उनका अनुसार हालसम्म उनले करिब एक लाखभन्दा बढी शल्यक्रिया गरिसकेकी छिन् । जसमा करिब ९१ हजार ‘एसआइसीएस’, पाँच हजार ‘फेको’, एक हजार ‘अकुलोप्लास्टी’ तथा तीन हजार अन्य समावेश छन् । साथै उहाँले करिब १० लाखभन्दा बढी आँखा बिरामीलाई बहिरंग (ओपीडी) सेवा प्रदान गरिसकेी छिन् ।
दुर्गम तथा पहुँच बाहिरका समुदायमा अन्धोपन न्यूनीकरणका लागि विभिन्न शल्य शिविरहरूमा ‘टिमलिडर’का रूपमा सक्रिय सहभागिता जनाउँदै आएकी उनले अस्पतालको विकास र व्यवस्थापनका विभिन्न चरणहरूमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी छिन् । उनी भन्छिन्, “२१औँ शताब्दी महिला सशक्तीकरणको युग हो । आज महिलाले गर्न नसक्ने कुनै क्षेत्र छैन । परिवार र समाजको विकासका लागि महिला सशक्तीकरण अपरिहार्य छ । समाजमा परिवारको साथ र समझदारीले मात्र महिला सशक्तीकरणलाई सुदृढ बनाउन सक्छ । महिला शक्तिलाई कहिल्यै पनि कम आँक्न सकिँदैन ।”
सन् १९९९ मा रुसको ट्भेर स्टेट मेडिकल युनिभर्सिटीबाट ‘एमबिबीएस’ अध्ययनपश्चात उनले सन् २००७ मा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट नेत्ररोग विषयमा एमडी उपाधि हासिल गरेकी थिइन् । सन् २०११ मा भारतको कोयम्बटोरमा फेको–इमल्सिफिकेसन तालिम तथा सन् २०१४ मा तिलगंगा आँखा प्रतिष्ठानबाट अकुलोप्लास्टी फेलोसिप पूरा गरेकी छिन् । सन् २००७ मा राप्ति आँखा अस्पतालमा नेत्ररोग विशेषज्ञका रूपमा सेवा सुरुआत गरेकी डा कटुवालले ‘डेपुटी मेडिकल डाइरेक्टर’, ‘मेडिकल डाइरेक्टर’ हुँदै सन् २०१५ देखि ‘चिफ मेडिकल डाइरेक्टर’को जिम्मेवारी सम्हालिरहेकी छिन्।
प्रा डा सुशीला पटेल चौधरी (चिफ मेडिकल डाइरेक्टर, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान)
नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानकी चिफ मेडिकल डाइरेक्टर प्रा डा सुशीला पटेल चौधरी वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा कोर्निया रोग उपचारमा चिकित्सक हुन् ।
उनले हालसम्म ४० हजारभन्दा बढी आँखाका बिरामीको शल्यक्रिया गरिसकेी छिन् भने करिब दुई लाख बिरामीलाई उपचार सेवा प्रदान गरिसकेकी छिन् । अनुसन्धान क्षेत्रमा सक्रिय रहँदै उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय जर्नलहरूमा १८ वैज्ञानिक लेख प्रकाशितसमेत गरिसकेकी छिन् ।
सन् २०२४ मा बंगलादेशमा भएको विद्रोह क्रममा आँखामा चोटपटक लागेका बिरामीको उपचारसमेत उहाँले उल्लेखनीय भूमिका निर्वाह गरे । उनी भन्छिन्, “चुनौतीपूर्ण र संवेदनशील परिस्थितिमा समेत मैले उच्च व्यावसायिक दक्षता, संयमता र मानवीय समर्पणका साथ बङ्गलादेशमै गई आँखा उपचार सेवा प्रदान गरेँ ।”
अस्पताल व्यवस्थापन, गुणस्तरीय शल्यक्रिया सेवा, जनशक्ति उत्पादन तथा ग्रामीण क्षेत्रमा शल्यक्रिया शिविर सञ्चालनमार्फत समुदायमा पुर्याएको योगदानले उनलाई एक सक्षम महिला नेतृत्वका रूपमा स्थापित गरिसकेको छ ।
“महिलाहरूले कार्यस्थल, घरपरिवार तथा समुदाय—सबै क्षेत्रमा पूर्ण समर्पण र अथक परिश्रमका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्”, प्राडा चौधरी भन्छिन्, “विभिन्न चुनौती र कठिनाइको सामना गर्दै निरन्तर मेहेनत र दृढताका साथ अघि बढ्दा महिलाहरूले आज कार्यस्थलमा मात्र होइन, घर र समाजमा पनि सम्मानित र प्रतिष्ठित स्थान हासिल गर्न सफल भएका छन् । महिलाको शक्ति उनको सहनशीलता, प्रतिबद्धता र निरन्तर प्रयासमा निहित छ ।”
डा चौधरीले एमबिबीएस भारतको किङ जर्ज मेडिकल कलेज, लखनउबाट र एमडी (नेत्ररोग) बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सम्पन्न गरेकी हुन्। कोर्निया तथा बाह्य रोगसम्बन्धी विशिष्ट फेलोसिप तालिम अरबिन्द आइकेयर सिस्टम र ऋबकभथ आइ इन्स्च्यिुटबाट हासिल गरेकी हुन् ।
हाल लुम्बिन नेत्रविज्ञान अध्ययन संस्थानमा ‘चिफ मेडिकल डाइरेक्टर’का रुपमा कार्यरत उहाँले पाँच वर्षभन्दा बढी संस्थानको शैक्षिक कार्यक्रम निर्देशकका रूपमा नेपालको आँखा उपचार जनशक्तिको उत्पादनमा महत्त्वपूर्ण योगदानसमेत पुर्याएका छन् ।
डा बबिता गुरुङ (मेडिकल डाइरेक्टर, हिमालय आँखा अस्पताल)
नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखराकी ‘मेडिकल डाइरेक्टर’ डा बबिता गुरुङ अनुभवी नेत्ररोग विशेषज्ञ हुन् । उनले हालसम्म करिब १७ हजारभन्दा बढी आँखाका बिरामीको शल्यक्रिया गरिसकेकी छिन् भने करिब एक लाख ५३ हजारभन्दा बढी बिरामीलाई आँखा उपचार सेवा प्रदान गरेका छन् । विभिन्न स्वास्थ्यकर्मी तथा चिकित्सकहरूलाई तालिम तथा मार्गदर्शन प्रदान गर्नुका साथै विभिन्न आँखाका शल्यक्रिया शिविरमार्फत समेत सेवा प्रवाह गर्दै आएका छन् ।
अस्पताल व्यवस्थापन, गुणस्तरीय आँखा उपचार सेवा, जनशक्ति उत्पादन तथा ग्रामीण क्षेत्रमा शल्यक्रिया शिविर सञ्चालनमार्फत समुदायमा पुर्याएको योगदानले नेत्र विशेषज्ञ डा गुरुङलाई एक अब्बल महिला नेतृत्वका रूपमा स्थापित गरिसकेको छ ।
अनुसन्धान क्षेत्रमा सक्रिय रहँदै उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय जर्नलहरूमा विभिन्न अनुसन्धानात्मक लेखहरू प्रकाशनसमेत गरिसकेका छन् । उनी भन्छन्, “महिलाहरूमा समय, स्रोत, मार्गदर्शन र लगानी गर्नु घाटा होइन, समग्र समाजका लागि लाभ हो । समान अधिकार सुनिश्चित गर्दै लैङ्गिक हिंसा अन्त्य, शिक्षा र आर्थिक अवसरमा समान पहुँच स्थापना गर्नु आजको आवश्यकता हो । न्यायपूर्ण समाज निर्माणमार्फत नै सबैका लागि प्रगति र समृद्धि सम्भव छ ।”
नेत्र विशेषज्ञ डा गुरुङले सन् २००१ मा बङ्गलादेशको युएसटिसीबाट ‘एमबिबीएस’ उपाधि हासिल गरेकी हुन् भने सन् २००९ मा त्रिभुवन विश्वविद्यालय, बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र काठमाडौँबाट ‘एमडी’ (नेत्ररोग) अध्ययन सम्पन्न गरेका थिए । सन् २०१५ अप्रिलदेखि जुलाइसम्म तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँमा कोर्निया तथा केराटोप्लास्टीसम्बन्धी फेलोसिप तालिमसमेत प्राप्त गर्नुभएको छ । त्यस्तै उनी सन् २०२२ देखि पोखरा विश्वविद्यालयको सहप्राध्यापकका रुपमा कार्यरत छन् ।
सन् २००९ देखि हिमालय आँखा अस्पताल, पोखरामा कार्यरत रहँदै आएका छन् । आकस्मिक सेवा तथा शल्यक्रिया शिविर व्यवस्थापन विभाग प्रमुख, डेपुटी मेडिकल डाइरेक्टर हुँदै उहाँले ६ फेब्रुअरी २०२५ देखि ‘मेडिकल डाइरेक्टर’को जिम्मेवारी सम्हालेकी हुन् ।
डा पुष्पा गिरी (चिफ मेडिकल डाइरेक्टर भरतपुर आँखा अस्पताल)
नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालकी ‘चिफ मेडिकल डाइरेक्टर’ ‘एसोसिएट प्रोफेसर’ डा पुष्पा गिरी नेत्ररोग विशेषज्ञ हुनुहुन्छ । उहाँले हालसम्म २० हजारभन्दा बढी दृष्टि पुनःस्थापना गर्ने शल्यक्रिया सम्पन्न गरेकी छन् भने एक लाखभन्दा बढी बिरामीलाई बहिरंग (ओपिडी) सेवा प्रदान गरिसकेी छिन् । एक सयभन्दा बढी शल्यक्रिया शिविर सञ्चालन तथा सहभागितामार्फत पाँच हजारभन्दा बढी ग्रामीण बासिन्दालाई दृष्टि प्रदान गर्नुका साथै हजारौँ बिरामीलाई उपचार सेवा उपलब्ध गराइसकेकी छिन् ।
आँखा उपचार सेवाका साथै उहाँ अनुसन्धान क्षेत्रमा समेत सक्रिय रहँदै राष्ट्रिय तथा अन्तरराष्ट्रिय जर्नलहरूमा मधुमेहजन्य ‘रेटिनोप्याथी’, ‘कोर्निया रोग’, ‘रिफ्र्याक्टिभ सर्जरी’, ‘क्याटर्याक्ट सर्जरी’ परिणामलगायत विषयमा विभिन्न शोधपत्रहरूसमेत प्रकाशन गरिसकेकी छिन् ।
उनका नेतृत्वमा अस्पतालले क्लिनिकल सेवा सुदृढीकरण, पहुँच कार्यक्रम विस्तार तथा दुर्गम क्षेत्रमा सेवा विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । साथै उनले कम्बोडियामा समेत आँखा स्वास्थ्य क्षमता अभिवृद्धिमा योगदान पुर्याएकी छिन् ।
उनी भन्छन्, “स्वास्थ्य क्षेत्रमा कार्यरत महिला केवल सेवा प्रदत्तमात्र होइनन्, परिवर्तनका संवाहक पनि हुन् । जब महिलालाई सशक्त बनाउँछौँ, राष्ट्र नै सशक्त बन्छ । स्वास्थ्य सेवा सबैका लागि पहुँचयोग्य बनाउन संघर्षरत महिलाको शक्ति, धैर्यता र करुणाको सम्मान गर्दछु ।”
सन् २०२४ मे १४ देखि सो अस्पतालको ‘चिफ मेडिकल डाइरेक्टर’को जिम्मेवारी सम्हाल्दै आएकी डा गिरीले सन् २००६ मा कलेज अफ मेडिकल साइन्सेस, चितवन ९काठमाडौँ विश्वविद्यालय०बाट एमबिबीएस तथा सन् २०१३ मा सोही संस्थाबाट एमडी (नेत्ररोग) उपाधि हासिल गरेकी हुन् ।
सन् २०१५ मा नेपाल नेत्रज्योति सङ्घको सञ्जालअन्तर्गत भरतपुर आँखा अस्पतालमा आबद्ध भएकी उनले क्लिनिकल सेवा, शिक्षण तथा सामुदायिक आँखा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएकी छिन् । सन् २०२० मा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गत सहायक प्राध्यापक तथा सन् २०२५ मा एसोसिएट प्राध्यापकमा पदोन्नति भई रेजिडेन्ट, फेलो तथा मिड–लेभल नेत्र स्वास्थ्यकर्मीहरूको तालिममा भूमिका निर्वाह गरिरहेकी छिन् ।
कोर्निया सेवाको आवश्यकता महसुस गर्दै उनले विश्वप्रसिद्ध एलएआइसीओ (अरविन्द आइकेयर सिस्टम)बाट कोर्निया तथा बाह्य नेत्ररोगसम्बन्धी फेलोसिप तालिम लिएकी छिन् । यसपछि तिलगङ्गा आँखा प्रतिष्ठानसँग सहकार्य गरी कोर्नियल टिस्यु संकलन प्रारम्भ गरेकी छिन् भने भरतपुर आँखा अस्पतालमा पूर्ण विकसित आँखा बैंक स्थापना गरी अहिले यसको नेतृत्व गरिरहेकी छिन् ।
डा रिमा शाह (मेडिकल सुपरिन्टेन्डेन्ट, बर्दिया आँखा अस्पताल)
डा रिमा शाह युवा नेत्ररोग विशेषज्ञ हुन् । उनी २०२५ जुलाई २१ देखि नेपाल नेत्रज्योसित संघ, बर्दिया आँखा अस्पताल, सानोश्री तारातालमा मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा कार्यरत छिन् । उनले हालसम्म तीन सय मोतियाबिन्दु शल्यक्रिया, १८० ‘प्टेरिजियम’ शल्यक्रिया तथा ७० साना शल्यक्रिया गरिसकेकी छिन् भने १२ हजार ५०० भन्दा बढी बिरामीलाई ओपिडी सेवा प्रदान गरेकी छिन् । उत्साह, समर्पण र गुणस्तरीय सेवाप्रतिको प्रतिबद्धतासहित डा शाहले ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्य सेवा सुदृढ गर्दै अन्धोपन न्यूनीकरण अभियानमा संलग्न छिन् ।
उनी भन्छिन्, “महिलाहरूको प्रगति, सहनशीलता र शक्तिलाई सम्मान गर्न चाहन्छु । नेत्ररोग विशेषज्ञका रूपमा मेरो काम दृष्टिको वरिपरि केन्द्रित छ । तर दृष्टि केवल चिकित्सकीय शब्दमात्र होइन, यो महिलाले दैनिक रूपमा देखाउने दूरदृष्टि, दृढता र सङ्कल्पको प्रतीक पनि हो । आउनुहोस्, जीवनका हरेक क्षेत्रमा समान अवसर प्रवर्द्धन गर्दै एकअर्कालाई सशक्त बनाऔँ ।”
सन् २०१८ मा ढाका विश्वविद्यालयअन्तर्गत सहिद सुहरावर्दी मेडिकल कलेज अस्पताल बङ्गलादेशबाट ‘एमबिबीएस’ अध्ययन पूरा गरेकी डा शाहले सन् २०२४ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नेत्ररोग विषयमा ‘एमडी’ उपाधि हासिल गरेकी छिन् । समुदायस्तरमा सेवा विस्तारमा सक्रिय रहँदै उनले बंगलादेश र नेपालका ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरमा सेवा पुर्याउँदै आएकी छिन् ।
डा. बेबिका फुयाँल ( मेडिकल सुपरिन्टेन्डेन्ट पाल्पा लायन्स लाकौल आँखा अस्पताल)
डा बेबिका फुयाँल युवा नेत्ररोग विशेषज्ञ हुन् । उनले त्रिभुवन विश्वविद्यालय किस्ट मेडिकल कलेजबाट ‘एमबिबीएस’ तथा काठमाडौं विश्वविद्यालयअन्तर्गत काठमाडौँ मेडिकल कलेजबाट नेत्ररोग विषयमा एमडी उपाधि हासिल गरेकी छिन् ।
हाल उनी नेपाल नेत्रज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा कार्यरत रहँदै ग्रामीण तथा दुर्गम क्षेत्रमा रोकथाम गर्न सकिने अन्धोपनविरुद्ध सक्रिय रूपमा काम गरिरहेकी छिन् । हालसम्म उनले एक हजार ५०० भन्दा बढी मोतियाबिन्दु शल्यक्रिया सम्पन्न गरेकी छिन् भने सयौँ ‘टेरिजियम’ तथा आकस्मिक शल्यक्रिया गरेकी छिन् । दैनिक रूपमा करिब १०० भन्दा बढी आँखाका बिरामीलाई ‘ओपिडी’ सेवा प्रदान गर्दै उनी पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका ग्रामीण क्षेत्रमा प्रत्येक महिना दुईतीनवटा शल्यशिविर सञ्चालन तथा समन्वय गरिरहेकी छिन् ।
मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा उनी अस्पतालको क्लिनिकल सुपरीवेक्षण, प्रशासनिक व्यवस्थापन, गुणस्तर सुनिश्चितता, बिरामी सुरक्षा तथा रणनीतिक योजना निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिहेकी छिन् । उनी समुदायसँग सहकार्य, जनचेतना अभिवृद्धि तथा रोकथाममुखी दृष्टिकोणमार्फत दृष्टिदोष भएका व्यक्तिहरूको जीवनस्तर सुधारमा लागिरहेकी छिन् । उनी भन्छिन्, “ग्रामीण नेपालमा सेवा गर्दै गर्दा म दृष्टिको परिवर्तनकारी शक्तिलाई प्रतिदिन अनुभव गर्छु । विशेषगरी दुर्गम क्षेत्रका महिलाहरूले गुणस्तरीय आँखा सेवा पाउनुपर्छ भन्ने मेरो प्रतिबद्धता हो । महिलाहरूले विभिन्न अवरोधलाई तोड्दै अघि बढौँ, एकअर्कालाई सशक्त बनाऔँ र उज्यालो भविष्य निर्माण गरौँ ।”
मञ्जु कण्डेल, (अस्पताल व्यवस्थापन समिति अध्यक्ष डा विनोद निता कण्डेल आँखा अस्पताल)
समाजसेवी मञ्जु कण्डेल नेपालमा सामुदायिक आँखा स्वास्थ्य सेवा र अन्धोपन न्यूनीकरण अभियानमा अब्बल महिला नेतृत्वका रूपमा परिचित छिन् । हाल नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यसमितिकी सहकोषाध्यक्ष समेत रहेकी उनले २०६३ कात्तिक १४ गतेदेखि नेपाल नेत्रज्योति संघ डा विनोद निता कण्डेल आँखा अस्पतालको अस्पताल व्यवस्थापन समितिको अध्यक्षका रूपमा निरन्तर नेतृत्वमा रहँदै संस्थागत सुदृढीकरण, सेवा विस्तार र गुणस्तरीय व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छिन् ।
उनले अन्धोपन न्यूनीकरण, निःशुल्क आँखा शिविर सञ्चालन, समुदाय–केन्द्रित सचेतना कार्यक्रम विस्तार तथा ग्रामीण क्षेत्रमा सेवा पहुँच अभिवृद्धिमा नेतृत्वदायी योगदान पुर्याएकी छिन्। उनको कार्यकालमा अस्पताललाई प्राथमिक आँखा उपचार केन्द्रबाट स्तरोन्नति गरी सेकेन्डरी लेभल अस्पतालमा रूपान्तरण गरिएको छ । अध्यक्ष कण्डेल भन्छिन्, “अस्पतालमा रेटिना सबस्पेशालिटी र फेको प्रविधिबाट शल्यक्रिया सेवा सुरुआत भएको छ ।”
उनी भन्छिन्, “सबै महिला र बालिकाका लागि समानता, सम्मान तथा सुरक्षित वातावरण सुनिश्चित गर्दै सशक्त महिलामार्फत स्वस्थ र समृद्ध समाज निर्माणमा अस्पताल व्यवस्थापन समिति तथा सम्पूर्ण अस्पताल परिवार सदैव प्रतिबद्ध रहनेछ ।”
दूरदृष्टि, प्रतिबद्धता र सेवाभावका साथ नेतृत्व गर्दै उहाँले आँखा स्वास्थ्य क्षेत्रमा महिला नेतृत्वको सशक्त उदाहरण प्रस्तुत गर्नुका साथै अन्धोपन न्यूनीकरण अभियानलाई नयाँ उचाइमा पुर्याउन कण्डलले योगदान दिएकी छिन् ।
प्रतिक्रिया