काठमाडौं - दुई तिहाई नजिक पुगेको रास्वपा सरकार गठनको तयारीमा रहेकोबेला श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गर्नुपर्ने बताएका छन्।
रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको भए पनि साम्पाङले सामाजिक सञ्जालमार्फत फरक धारणा सार्वजनिक गरेका हुन्।
आइतबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, “जनताले चुनिसकेपछि सबैले स्वीकार्नैपर्छ, तर सरकारको नेतृत्व रविले गर्दा राम्रो हुन्छ। सदनमा जनताका प्रश्न उठाउँदा उत्तर दिन सक्ने र समय दिन सक्ने नेतृत्व चाहिन्छ, नत्र समस्या आउन सक्छ।”
२०७९ को स्थानीय तह निर्वाचनमा बालेन स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएका थिए भने साम्पाङ पनि स्वतन्त्र उम्मेदवारकै रूपमा धरान उपमहानगरपालिकाको मेयर बनेका थिए।
जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनको क्रममा आफूलाई प्रधानमन्त्री पदमा समर्थन नगरेको भन्दै साम्पाङ बालेनप्रति असन्तुष्ट रहेको बताइन्छ। चुनावी अभियानका क्रममा उनले रवि लामिछानेको पनि आलोचना गरेका थिए। तर निर्वाचन परिणामपछि उनले प्रधानमन्त्रीका लागि रवि उपयुक्त हुने धारणा सार्वजनिक गरेका छन्।
प्रतिक्रिया