काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवारलाई हालसम्म निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसके पनि निर्वाचन आयोगले अझैसम्म प्रमाणपत्र नदिएको उल्लेख गरेको छ।
विज्ञप्तिअनुसार निर्वाचन आयोगको फागुन १८ गतेको बैठकले निर्वाचन ऐन २०७४ अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्री किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। त्यसपछि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना गरी परिणामसमेत सार्वजनिक भइसकेको नेकपाको दाबी छ।
आयोगले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न निर्देशन दिएपछि सबै उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सम्पन्न भएको र त्यसमा यादव विजयी भएको नेकपाले जनाएको छ।
यद्यपि, मत परिणाम आइसकेपछि पनि प्रमाणपत्र दिन ढिलाइ गर्नु निर्वाचन प्रक्रिया र स्थापित विधिविपरीत भएको नेकपाले बताएको छ ।
नेकपाले निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई कानुन र विधिको पालना गर्दै कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष रूपमा काम गर्न आग्रह गरेको छ। साथै, न्यायालयले पनि कानुनअनुसार सही निर्णय गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया