''सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरण: साइबर सुरक्षा नेतृत्व निर्माण''कार्यक्रम भव्यताका साथ सम्पन्न

विहीबार, ०५ चैत्र २०८२, १६ : ५५

काठमाडौ- डिजिटल परिदृश्यको विकाससँगै साइबर सुरक्षाको क्षेत्रमा महिलाहरूको नेतृत्वदायी भूमिका अपरिहार्य बन्दै गएको छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै क्यान महासंघ(CAN Federation) को सफ्टवेयर तथा सेवा समितिले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (CSRI Nepal) र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल  (npCERT)  सँगको सहकार्यमा "Empowering Women for a Secure Digital Future: Building Cybersecurity Leaders" शीर्षकको विशेष कार्यक्रम आज सिफलस्थित टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष श्री चिरञ्जिवी अधिकारीले उक्त कार्यक्रममा डिजिटल सुरक्षा मात्र नभई महिलाहरूको समग्र सुरक्षाका विषयमा गहन छलफल भएको थियो । सम्बोधनका क्रममा अधिकारीले सुर्खेतको पछिल्लो घटनालाई स्मरण गर्दै महिलाहरूका लागि डिजिटल सुरक्षाका साथै आत्मरक्षा (Self-defense)  को तालिम पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिए। उनले साइबर सुरक्षामा महिला नेतृत्वलाई अगाडि ल्याउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

कार्यक्रममा टेक्सस कलेजका आईटी निर्देशक डा. सुमन थपलियाले स्वागत मन्तव्य राखेका थिए भने क्यान महासंघकी अध्यक्ष सुनायना घिमिरे पाण्डे र महासचिव चन्द्र विलास भुर्तेलले सूचना प्रविधि क्षेत्रमा महिला सहभागिताको रणनीतिक महत्त्वबारे आफ्ना भनाइहरू राखेकी थिइन् । सफ्टवेयर तथा सेवा समितिकी सभापति शीला कार्की काँसकारले सूचना प्रविधि विकासका लागि महिलाको सक्रियता अपरिहार्य रहेको बताउँदै कार्यक्रमको समापन गरेकी थिइन्।

त्यसैगरि नेपाल दूरसञ्चार प्राधिकरणकी उप–निर्देशक रोजा किरण बासुकलाले 'साइबर सुरक्षाको अग्रपंक्तिमा महिला: सुरक्षित डिजिटल भविष्यको निर्माण' विषयमा मुख्य सम्बोधन गर्दै कार्यपत्र प्रस्तुत गरिन् ।

त्यसैगरि इनसाइट टेक्नोलोजीका कार्यकारी निर्देशक सुमन के. शर्माले साइबर सुरक्षामा करियरका मार्गहरू र अवरोधहरू हटाउने उपायबारे पनि चर्चा गरे ।

साथै मोनल टेककी संस्थापक मोना न्याछ्योले बदलिँदो साइबर खतरा र विविध नेतृत्वको आवश्यकतामाथि प्रकाश पारेकी छन्।

कार्यक्रमको अन्त्यमा एक विशेष प्यानल छलफल आयोजना गरिएको थियो, जसमा नेपाल बैंक लिमिटेडकी कार्ड एण्ड डिजिटल बैंकिङ डिभिजन प्रमुख वन्दना शर्मा, रोजा किरण बासुकला, सुमन के. शर्मा र मोना न्याछ्योको सहभागी रहेको थियो । उक्त छलफलमा बैंकिङ सुरक्षा, नियामक चुनौती र साइबर सुरक्षामा महिलाका सबल पक्षहरूबारे अन्तरक्रिया गरिएको थियो ।

नेपालमा साइबर सुरक्षाको जनशक्ति विकास र लैङ्गिक समानता कायम गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

 
 
विहीबार, ०५ चैत्र २०८२, १६ : ५५

प्रतिक्रिया