काठमाडौँ- न्यूनतम ५ हजार रुपैयाँ डाउन पेमेन्टम केरेन ब्राण्डका इलेक्ट्रीक स्कुटर खरिद गर्न सकिने नयाँ योजना सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरक इभोक नेपालले विशेष फाइनान्स स्कीममार्फत यस्तो सुविधा ल्याएको हो ।
सामान्यतया राष्ट्र बैंकको को नियमअनुसार सवारी साधन खरिद गर्दा कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट आवश्यक पर्छ । तर इभोक नेपालले हिमालयन बैंक सँगको सहकार्यमा यो नयाँ योजना ल्याएको हो, जसअन्तर्गत न्यून रकममै स्कुटर किन्न सकिने भएको छ ।
यस योजनाअन्तर्गत ग्राहकले केरेन ब्लेज र केरेन एसआरटी ५ प्रो मोडलका स्कुटर खरिद गर्न सक्नेछन् । ब्लेजको मूल्य २ लाख १९ हजार रुपैयाँ र एसआरटी ५ प्रोको मूल्य २ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।
ग्राहकले सुरुमा ५ हजार रुपैयाँ तिरेपछि बाँकी रकम हिमालयन बैंकले ऋणको रूपमा उपलब्ध गराउनेछ । उक्त ऋण ३ वर्षसम्म मासिक किस्ताबन्दी ( ईएमआइ ) मा तिर्न सकिनेछ, जसमा ब्याजदर ६.९९ प्रतिशत रहेको छ ।
बैंकले क्रेडिट कार्डमार्फत ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ । स्कुटर खरिद गर्ने ग्राहकलाई लोन बराबरको क्रेडिट कार्ड दिइनेछ र हरेक महिना सोही कार्डबाट किस्ता काटिनेछ । ग्राहकले भने सोही अनुसार रकम जम्मा गर्नुपर्नेछ ।
ऋण लिनका लागि आम्दानी स्रोत पुष्टि गर्ने कागजात, नागरिकता, नेशनल आईडी, ड्राइभिङ लाइसेन्स, फोटो लगायतका आवश्यक कागजात पेश गर्नुपर्नेछ । कम्पनीका हकमा कर चुक्ता र अडिट रिपोर्ट समेत आवश्यक पर्नेछ । साथै धितो राखेर पनि ऋण लिन सकिने व्यवस्था गरिएको छ ।
प्राविधिक रूपमा हेर्दा, दुवै स्कुटरमा ७२ भोल्ट र ३५ एम्पियरको ग्राफेन ब्याट्री प्रयोग गरिएको छ, जसले फुल चार्जमा १२० किलोमिटरसम्मको रेन्ज दिन्छ । साथै के–टेक डिलुहब मोटर र सीबीएस ब्रेकिङ सिस्टम जडान गरिएको छ ।
ब्लेजको टप स्पीड ६५ किमी प्रतिघण्टा र एसआरटी ५ प्रोको ७० किमी प्रतिघण्टाभन्दा बढी रहेको छ । दुवैमा ट्र्याक्सन कन्ट्रोल, रिभर्स मोड र स्लोप होल्ड सुविधा दिइएको छ भने प्रो मोडलमा अतिरिक्त रूपमा क्रुज कन्ट्रोल पनि उपलब्ध छ ।
प्रतिक्रिया