मरहट्टा सेवा प्रतिष्ठानको ९औँ वार्षिकोत्सव तथा १०औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

बुधबार, ११ चैत्र २०८२, १५ : ५१

काठमाडौं- मरहट्टा सेवा प्रतिष्ठानको ९औँ वार्षिकोत्सव तथा १०औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष ध्रुववावु मरहट्टाको अध्यक्षतामा आयोजित कार्यक्रम उत्साहजनक सहभागिताबीच सम्पन्न भएको हो ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव दिपकवावु मरहट्टाले गरेका थिए । उनले आफ्नो सम्बोधनमा प्रतिष्ठानको औचित्यबारे प्रकाश पार्दै संस्था स्थायी भए पनि कार्यसमितिहरू उत्तराधिकारमा निरन्तरता पाउने संरचना भएको उल्लेख गरे । उनले विगतका कार्यसमितिमा रहेर योगदान दिएका व्यक्तिहरूबीच समन्वय र अनुभव आदान–प्रदानको आवश्यकता औंल्याए ।

कार्यक्रमका प्रमुख अतिथि जेष्ठ सदस्य हेमलाल मरहट्टा तथा विशेष अतिथि जेष्ठ महिला सदस्य सीता देवी मरहट्टा रहेका थिए । प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो भने अन्य अतिथिहरूले प्रतिष्ठानको स्थापना दिवसको अवसरमा केक काटेर कार्यक्रमलाई उल्लासपूर्ण बनाएका थिए ।

प्रतिष्ठानका सचिव हरि प्रसाद मरहट्टाले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित अतिथि तथा बन्धुवान्धवलाई स्वागत गरेका थिए। उनले मरहट्टा समुदायको एकता, सद्भाव र पहिचान सुदृढ गर्न सबैलाई एकजुट भएर लाग्न आग्रह गरे । साथै वंशावली पुनर्लेखन, खोज तथा अनुसन्धानको कार्य अघि बढिसकेको जानकारी पनि गराए।

कार्यक्रममा अतिथिहरू वशुदेव मरहट्टा, नानीराम मरहट्टा, रामजी प्रसाद मरहट्टा, केशव मरहट्टा, प्रा शिवहरी मरहट्टा र काशीनाथ मरहट्टालगायतले स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस अवसरमा प्रतिष्ठानको नयाँ लोगो सार्वजनिक गरिएको थियो भने २४५ जना आजीवन सदस्यहरूलाई वितरण गरिएको जानकारी दिइयो। साथै महिला समूह, युवा समूह र लेखा समितिका पदाधिकारीहरूलाई टीका तथा माला लगाएर सम्मान गरिएको थियो।

कार्यक्रममा आजीवन सदस्यहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। अन्त्यमा अध्यक्ष ध्रुववावु मरहट्टाले मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानको आगामी योजनाहरू र उद्देश्यबारे जानकारी गराउँदै सबैको साथ र सहयोग आवश्यक रहेको बताएपछि कार्यक्रम सम्पन्न भएको थियो।
 

 
 
 
बुधबार, ११ चैत्र २०८२, १५ : ५१

प्रतिक्रिया