गोल्छा ग्रुपद्वारा किओचलाई ५ करोड सहयोग, बाल अस्पताल अभियानलाई टेवा

बुधबार, १८ चैत्र २०८२, १७ : ३५

काठमाडौं-  गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बुधबार आयोजित एक कार्यक्रममा बालबालिकाहरूका लागि सहज उपचार तथा प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले उक्त सहयोग हस्तान्तरण गरिएको हो। कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष गोल्छाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानमा सहभागी हुन पाउँदा गर्व लागेको बताए। उनले यस सहकार्यले बालबालिकाहरूको उपचार सेवा अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर अघि बढाइने बताए।

सहयोग ग्रहण गर्दै प्रा.डा. कोइरालाले गोल्छा ग्रुपको सहयोगप्रति आभार व्यक्त गरे। उनले यस सहयोगबाट हजारौँ बालबालिकाले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने र देशभर निर्माणाधीन बाल अस्पताल परियोजनामा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने दीर्घकालीन योजनाअन्तर्गत हाल कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौंमा अस्पताल सञ्चालनमा आइसकेका छन्। देशभरका बालबालिकालाई उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले किओच स्थापना गरिएको हो।

गोल्छा ग्रुप नेपालका पुराना तथा अग्रणी व्यावसायिक समूहहरूमध्ये एक हो। औद्योगिकीकरणको सुरुवातसँगै पहिलो उद्योग स्थापना गर्ने इतिहास बोकेको यस समूहले हाल २० हजारभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ। साथै, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न संस्थासँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका कार्यहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएको छ।

 
 
बुधबार, १८ चैत्र २०८२, १७ : ३५

प्रतिक्रिया