काठमाडौँ- नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले नेपाल राष्ट्र बैंक का गभर्नर विश्वनाथ पौडेल समक्ष शपथ ग्रहण गरेका हुन्। शपथपछि उनले आजैदेखि पदबहाली समेत गरेका छन्।
नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गतेको निर्णयअनुसार पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरिएको हो। शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले पण्डितलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंकिङ सेवामा प्रवेश गरेका थिए। त्यसपछि उनी २०६८ मा उप–निर्देशक, २०७४ मा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए।
कार्यकारी निर्देशकका रूपमा रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्व गर्नुका साथै बैंकको प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए।
प्रतिक्रिया