काठमाडौं- नेपालका लागि हुवावे उत्पादनको आधिकारिक राष्ट्रिय वितरक कल मोबिलिटी प्रालि र नेपालको द्रुत गतिमा फैलिरहेको फिटनेस समुदाय मेल्टडाउन नेपालबीच एक वर्षे रणनीतिक साझेदारीको घोषणा गरिएको छ। स्वास्थ्य र प्रविधिलाई एकसाथ जोड्ने उद्देश्यका साथ दुई संस्थाबीच फिटनेस सहकार्यका लागि औपचारिक सम्झौता भएको हो।
यो साझेदारीले हुवावेको अत्याधुनिक 'वेयरेबल' (हातमा लगाउन मिल्ने) प्रविधिलाई नेपालका स्वास्थ्य-सचेत नागरिकहरूसम्म पुर्याउने लक्ष्य राखेको छ। मेल्टडाउन नेपालले आफ्नो समुदायमा आबद्ध युवा पेशेवर र फिटनेस उत्साहीहरूका लागि आयोजना गर्ने रन, ट्रेनिङ सेसन र डिजिटल सामग्रीमार्फत हुवावेले आफ्ना स्मार्ट डिभाइसहरूको प्रवर्द्धन गर्नेछ।
यस सहकार्यको औपचारिक सुरुवात आगामी वैशाख ३ गते (अप्रिल १५, २०२६) बाट हुने कम्पनीले जनाएको छ। सोही अवसरमा हुवावेले आफ्नो बहुप्रतिक्षित 'हुवावे ब्याण्ड ११ सिरिज' (HUAWEI Band 11 Series) नेपाली बजारमा भव्य रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। यो नयाँ सिरिजले प्रयोगकर्ताको फिटनेस ट्र्याकिङ र दैनिक जीवनशैलीलाई थप सहज बनाउने विश्वास लिइएको छ।
साझेदारीको बारेमा बोल्दै कल मोबिलिटी प्रा. लि. की मार्केटिङ म्यानेजर सुश्री विजया रोका क्षेत्रीले भनिन् , "यो सहकार्यले प्रविधिलाई दैनिक जीवनशैलीमा एकीकृत गर्ने र फिटनेस-केन्द्रित समुदायसँग सिधै जोडिएर नेपाललाई स्वस्थ र फिट राष्ट्र बनाउने हाम्रो परिकल्पनालाई प्रतिबिम्बित गर्दछ।"
हुवावेले विश्वभर स्मार्टफोन, वेयरेबल्स र स्मार्ट डिभाइसमा आफ्नो नवीनताका लागि पहिचान बनाएको छ। त्यस्तै, मेल्टडाउन नेपालले विभिन्न सिर्जनशील गतिविधिमार्फत मानिसहरूलाई सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्दै आएको छ। यो सहकार्यले नेपालको फिटनेस प्रविधिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया