काठमाडौं - दुग्ध तथा मासु उत्पादन वृद्धिका लागि लुम्बिनी प्रदेश सरकारले नयाँ योजना अघि सारेको छ । जस अनुसार प्रदेशमा भैंसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध तथा मासु उत्पादकत्व वृद्धि गर्ने योजना अघि बढाउने भएको छ । आयोजनालाई अघि बढाउन लुम्बिनी प्रदेश सरकारले भैंसी वंश सुधारका क्षेत्रमा कार्यरत विज्ञहरूसँग छलफलसमेत गरेको छ ।
यसै सन्दर्भमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा यससम्बन्धी विज्ञहरूसँग प्राविधिक कार्यशाला गरिएको हो । कार्यशालामा नेपालमा भैंसीको विकास र अनुसन्धानका क्षेत्रमा लामो समयदेखि अनुसन्धान गर्दै आउनुभएका कृषि, वन विज्ञान अध्ययन संस्थान चितवनका प्रा डा भूमिनन्दन देवकोटाले सन् २०२४ को तथ्याङ्कअनुसार करिब ३३ लाख भैंसीहरू रहेका र यिनको कुल दूध उत्पादनमा ५७ प्रतिशत र मासु उत्पादनमा ३६ प्रतिशत योगदान रहेको बताए ।
उक्त कार्यक्रममा हिमालयन कलेजका कृषि, विज्ञान तथा प्राविधिक विषयका प्राडा श्रीरामप्रसाद न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा नश्ल सुधार कृत्रिम गर्भाधानबाट स्थानीय गाईभैंसीबाट बढी दूध दिने उन्नत जातका पशुहरू उत्पादन गर्न मद्दत पुगेको उल्लेख छ । नेपालमा हाल भैंसीपालनको संख्या ३३ लाख ९४ हजार ७ सय २४ रहेको तथ्याङ्क छ । यसमध्ये लुम्बिनी प्रदेशमा रहेका तराईका छ जिल्लामा मात्र करिब ६९ प्रतिशत अर्थात् चार लाख ७३ हजार ६ सय ७४ भैंसी रहेका छन् । प्राडा न्यौपानेले नेपालमा दुहुना भैंसीको संख्या नौ लाख ६५ हजार ९ सय २० रहेका र तीमध्ये लुम्बिनी प्रदेशका छ जिल्लामा मात्र दुई लाख १६ हजार ७ सय ९२ अर्थात् ४३ प्रतिशत रहेको उल्लेख गरे ।
‘नेपालमा प्रतिदिन २७ लाख १८ हजार एक सय ७७ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । त्यसमध्ये लुम्बिनी प्रदेशमा पाँच लाख १५ हजार ७ सय ८८ उत्पादन हुन्छ’– उनले भने, ‘प्रदेशअन्तर्गत तराईका ६ जिल्लामा मात्र प्रतिदिन ६६ प्रतिशत अर्थात् तीन लाख ४२ हजार ५ सय ३ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । यसमध्ये यी जिल्लामा भैंसीको मात्र दूध उत्पादन ६४ प्रतिशत अर्थात् दुई लाख १९ हजार ५ सय ५४ मेट्रिक टन रहेको छ ।’ नेपालभर रहेका कुल भैंसीहरूमध्ये करिब २३ प्रतिशत लुम्बिनी प्रदेशमा मात्र छन् । यसले नेपालको डेरी र मासु व्यवसायमा लुम्बिनी प्रदेशको ठूलो योगदान रहेको पुष्टि गर्छ ।
लुम्बिनी प्रदेश, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु चिकित्सक लोकराज भुसालले प्रदेश सरकारले २ वर्षदेखि परीक्षणका रूपमा तराईका सुस्तादेखि बर्दियाको राजापुरसम्म, हुलाकीमार्ग लक्षित भैंसीको वंश सुधार तथा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनका अनुसार उक्त ‘पाइलट प्रोग्राम’ अन्तर्गत एउटा जिल्लामा १५ लाख बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरिएका छन् । यस्तै, पहाडका छ जिल्लामा पनि अन्तर्राष्ट्रिय पोषणमा सुधार केन्द्र नामक अन्तर्राष्ट्रिय संस्थाको प्राविधिक परामर्श सहयोगमा कार्यक्रम सञ्चालन भइरहेका छन् । ‘लुम्बिनीमा भैंसी प्रवद्र्धन, विकास, वंश सुधार र नश्ल सुधार गर्न सक्यौं भने आगामी १० वर्षमा लुम्बिनीमै मात्र ५५ देखि ६० अर्बको वार्षिक दूध उत्पादन गर्न सकिने सम्भावना छ’– भुसालले भने – ‘प्रदेश सरकारले पनि यसलाई गौरवको योजनाका रूपमा प्राथमिकतामा राखेर नीतिगत रूपमै स्वीकार भएको छ, यसलाई अब कार्यान्वयन गर्न वार्षिक बजेट र कार्ययोजनामा लक्षित भयो भने दुग्ध उत्पादन बढाउन सकिन्छ ।’
प्रदेशका कृषि तथा सहकारीमन्त्री दिनेश पन्थीले लुम्बिनीमा रहेका दुई लाख २० हजार दुरालो भैंसीको उचित व्यवस्थापन गरेर उत्पादन वृद्धि गर्न सकिए प्रदेशमा आयआर्जनको ठूलो आधार हुने बताए । अब विषय विज्ञहरूले अनुसन्धान गरेर दिएका सुझावलाई आधार बनाएर प्रदेश सरकारले काम गर्ने उनको भनाइ थियो ।यसका लागि भैंसीको नश्ल, वंश, आहारा सुधारका साथै व्यवस्थापन, भैंसीको स्वास्थ्य र प्रजननमा सुधार गरेर उत्पादन बढाउने काममा लाग्नुपर्ने धेरैको जोड छ ।
प्रतिक्रिया