काठमाडौ - ईन्धन र निर्माण सामग्रीहरुको मुल्यसमेत बढेपछि विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् । निर्माण व्यवसायीहरुले अहिले सामान महंगी हुदा काम गर्न समस्या भएको बताउने गरेका छन् । निर्माण उद्योग परिषद्ले एक विज्ञप्ति प्रकाशित गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग गरेको छ ।
परिषद्ले निर्माण सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएको जनाउँदै आपत्काल घोषणा गर्न माग गरेको हो । मध्यपूर्व युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेललगायत इन्धनजन्य सामग्रीमा पटक–पटक भएको मूल्य वृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेका परिषद्को भनाइ छ ।
इन्धन मात्र नभई बिटुमिन, सिमेन्ट, डण्डीलगायत अन्य अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा निरन्तर भइरहेको मूल्य वृद्धि र बजारमा देखिएको अभावले निर्माण व्यवसायीहरू मारमा परेका विज्ञप्तिमा उल्लेख छ ।अहिलेको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने देखिएकाले तत्काल मूल्य समायोजनको मार्ग निर्देशिका–२ जारी गर्नुपर्ने र सबै अवधिका ठेक्काहरूको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्य वृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीका समस्या तुरुन्त सम्बोधन गर्नुपर्ने परिषद्कोमाग रहेको छ ।
प्रतिक्रिया