काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७७औँ कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको सन्देशमा ऐतिहासिक संघर्ष, बलिदान र जनअधिकारका लागि भएका आन्दोलनप्रति सम्मान व्यक्त गरिएको छ। साथै, शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा बेपत्ता परिवारजनप्रति उच्च सम्मान प्रकट गरिएको छ।
सन्देशमा २००६ साल वैशाख ९ गते स्थापना भएको पार्टीले समाजवाद र साम्यवादमार्फत जनताको जनवादी सत्ता स्थापना गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ। विभिन्न संघर्ष र आन्दोलनका चरण पार गर्दै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको पनि सन्देशमा उल्लेख छ।
हालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा वामपन्थी तथा प्रगतिशील शक्तिबीच एकता आवश्यक रहेको औंल्याउँदै सामाजिक न्याय, समानता र आर्थिक रूपान्तरणका लागि साझा पहल अपरिहार्य भएको पार्टीले जनाएको छ।
पार्टीले विगतका उपलब्धिको रक्षा गर्दै किसान, श्रमिक र उत्पीडित वर्गको अधिकार सुनिश्चित गर्न संघर्षलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति प्रक्रियाको पूर्णता र संविधान कार्यान्वयनलाई प्राथमिकतामा राख्ने उल्लेख गरिएको छ।
अन्त्यमा, लेनिनका विचार र आदर्शलाई मार्गदर्शनका रूपमा आत्मसात गर्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन सबैमा आह्वान गरिएको छ।
प्रतिक्रिया