सुनचाँदी व्यवसाय

सुनचाँदीको मूल्यमा किन उतार-चढाव आइरहेको छ ? के भन्छन् व्यवसायी ?

विहीबार, १० बैशाख २०८३, १६ : ३३

काठमाडौं– नेपालमा पछिल्ला केही समय सुनचाँदीको मूल्य निरन्तर उच्च रहँदै आएको छ । जसले समग्र बजार मात्र होइन, प्रत्यक्ष रूपमा व्यवसायीहरूलाई गम्भीर असर पारेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि, विनिमय दरको प्रभाव र आर्थिक अनिश्चितताले गर्दा सुन महँगिँदै जाँदा यसको असर उपभोक्तादेखि व्यापारको संरचनासम्म परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष बुद्धि बहादुर बिक (दियाली) ले सरकारी कर नीतिले पनि व्यवसायमा थप चुनौती थपेको गुनासो गरेका छन् । उनले भने, ‘भन्सार शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), २% विलासीता कर लगायतका करले सुन आयात महँगो बनाएको छ ।’

उनका अनुसार पहिले दश लाख सम्म नगद कारोबार गर्न पाइए पनि अहिले नगदको दायरा घटाएर पाँच लाख सम्म नगद कारोबार गर्न मिल्ने नीति ल्याएकोले व्यवसाय गर्न कठिनाई भएको छ । उनले भने, ‘नेपालमा भन्दा भारतमा कर ४% ले कम छ । खुल्ला नाका भएकोले अवैध कारोबार बढ्ने चुनौती रहेकोले सरकारको ध्यान त्यता हुनुपर्छ ।’ 

सुनचाँदी व्यवसायीहरूका अनुसार अहिलेको अवस्थामा व्यापार पहिलेको जस्तो चलायमान छैन । तेज रत्न ज्वेलर्स पोखराका सन्चालक एवं नेपाल सुनचाँदी रत्न-आभुषण महासंघका केन्द्रीय अध्यक्ष किसान सुनार पनि पहिलेभन्दा व्यापारमा कमी आएको बताउँछन् । 

उनी भन्छन्, ‘पहिले दैनिक रूपमा ग्राहकको भीड लाग्थ्यो, अहिले मानिसहरू हेर्न मात्र आउँछन्, किन्ने संख्या निकै घटेको छ भने बेच्नेको संख्या बढेको छ ।’ 

मूल्य अत्यधिक बढ्दा ग्राहकको खरिद क्षमता कमजोर बनेको छ, जसले गर्दा बजारमा माग घटेको स्पष्ट देखिन्छ । विशेषगरी विवाह र चाडपर्व जस्ता मुख्य सिजनमा पनि अपेक्षित व्यापार हुन नसकेको व्यवसायी सुनारले बताए  ।

अर्कोतर्फ, व्यवसाय सञ्चालनको लागत पनि बढ्दो छ । सुनको मूल्य महँगो हुँदा पसलमा स्टक राख्नकै लागि ठूलो पूँजी आवश्यक पर्छ । सुनारका अनुसार अहिले थोरै सुन किन्न पनि धेरै रकम लगानी गर्नुपर्छ । तर बिक्री नहुँदा पैसा लामो समयसम्म अड्एिको छ । यसले विशेषगरी साना तथा मध्यम स्तरका व्यवसायीहरूलाई ठूलो दबाबमा पारेको छ ।

त्यस्तै, बाग्लङ–म्याग्दी भिमदेव सुनचाँदी पसल पर्सा चितवनका सन्चालक भिम सेन्चुरी पनि करको दर घटाएर वा व्यवस्थापन सहज बनाएमा बजार केही चलायमान हुन सक्ने अपेक्षा गरिएको बताउँछन् ।‘करकै कारण सुनको मूल्य अझै बढेको छ, जसको असर सीधै ग्राहकमा पर्छ र अन्ततः व्यापार घट्छ ।’, उनी भन्छन् । 

त्यसैगरी, सेन्चुरीले सुन महंगिँदा अवैध कारोबार बढ्ने खतरा पनि औंल्याएका छन् । ‘जब वैध रूपमा ल्याउँदा लागत धेरै हुन्छ, केहीले गैरकानुनी बाटो रोज्ने सम्भावना बढ्छ,’ सेन्चुरीले भने । यसले इमान्दार व्यवसायीहरूलाई प्रतिस्पर्धामा पछाडि पार्ने र समग्र बजारलाई असन्तुलित बनाउने खतरा रहेको उनले बताए ।

यद्यपि, केही व्यवसायीहरूले सुनलाई सुरक्षित लगानीको रूपमा हेर्ने प्रवृत्ति अझै रहेको बताउँछन् । “दीर्घकालीन हिसाबले मानिसहरूले सुन किन्न छोडेका छैनन्, तर अहिलेको खरिद दर घटेको हो,”सेन्चुरीले भने । यसले भविष्यमा बजार पुनः चलायमान हुन सक्ने संकेत पनि दिन्छ ।

व्यवसायीहरुलाई चेकमा कारोबार गर्दा चेक नसाटिने, रकम उठाउन लामो समय लाग्ने, एक लाख भन्दा माथि कारोबार गर्दा ग्राहकको पहिचान राख्नु पर्ने बाध्यता तथा अनलाईन बिलिङले झन्झट भएको गुनासो गरेका छन् ।     

समग्रमा, उच्च मूल्य, घट्दो माग र करको दबाबका कारण नेपाली सुनचाँदी व्यवसाय अहिले चुनौतीपूर्ण अवस्थामा छ । व्यवसायीहरू सरकारसँग कर नीतिमा सुधार, बजार स्थिरता र वैध व्यापारलाई प्रोत्साहन गर्ने नीति ल्याउन आग्रह गरिरहेका छन्, जसले गर्दा व्यापार पुनः सन्तुलनमा आउन सकोस् । 
 

 
 
 
 
 
 
विहीबार, १० बैशाख २०८३, १६ : ३३

प्रतिक्रिया