काठमाडौं– सरकारले सुनचाँदीमा २ प्रतिशत बिलासिता कर लागू गरेसँगै देशभरका सुनचाँदी व्यवसायमा प्रत्यक्ष असर देखिएको छ । विशेषगरी काठमाडौं उपत्यकासहित प्रमुख शहरहरूमा कारोबार घटेको व्यवसायीहरूले बताएका छन् ।
नेपालमा सुनचाँदी केवल विलासिताको वस्तु मात्र नभई विवाह, संस्कार र सुरक्षित लगानीको माध्यमका रूपमा उपयोग हुँदै आएको छ । तर हाल थपिएको २ प्रतिशत करका कारण सुनको मूल्य दिनानुदिन बढ्दा ग्राहकको खरिद क्षमता प्रभावित भएको देखिन्छ । व्यवसायीहरूका अनुसार ग्राहकहरू अहिले अत्यावश्यकभन्दा बढी किनमेल गर्न छाडेका छन् ।
सुनचाँदी व्यवसायी संघ,चितवनका निवर्तमान अध्यक्ष डा.यम बहादुर विकका अनुसार, सरकारले राजस्व बढाउने उद्देश्य राखे पनि यसको प्रभाव दीर्घकालमा उल्टो परेको छ ।
निवर्तमान अध्यक्ष डा. बि.के.ले भने, ‘बजार सुस्तायो भने राजस्व पनि घट्न सक्छ ।’ सरकारले सामान्य १० लाख भन्दा माथिको कारोबारमा बिलासिता कर लिने नीतिले उपभोक्ता तथा व्यवसायीहरुमा आहत भएको बताएका छन् ।
अधिकांश उपभोक्ताहरुसँग सामानको बिल नहुने समस्या छ । उपभोक्तासँग सुनचाँदी खरिदमा झन्झट हुने हुँदा सरकारले उपभोक्ताहरुको सुनचाँदी खरिद गर्न सहज नीति ल्याएर रिसेलको रुपमा आउने सुनचाँदीलाई राज्यले मान्यता दिनुपर्ने व्यवसायीहरू बताउँछन् ।
सुनचाँदी व्यवसायी संघ, चितवनका निवर्तमान अध्यक्ष डा. बि.के.ले भने ‘अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपालमा १०प्रतिशत भन्सार शूल्क रहेको हुँदा यसले झन सुनचाँदीको भाउ बढेको छ ।’
भन्सार शूल्कलाई समायोजन गरी २ प्रतिशत बिलासिता करलाई शून्य प्रतिशतमा सरकारले ल्याउन सके समग्र व्यवसायीलाई राहत मिल्ने उनले बताएका छन् । व्यवसायीहरुलाई सजिलैसँग कच्चा पदार्थ बितरण सहज गर्न राज्यले व्यवस्थापन गर्नु पर्नेमा उनले जोड दिएका छन् ।
उनले भने, ‘व्यवसायीहरु बिक्री घट्नु, नाफा कम हुनु र बजार अनिश्चित हुनुजस्ता चुनौतीसँग जुधिरहेका छन् ।’
त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी संघ, बाकेंका तृतीय उपाध्यक्ष हेम राज बिश्वकर्माले पनि २ प्रतिशत बिलासिता कर सानो जस्तो लागे पनि सुनमा यसको असर ठूलो हुने बताउँछन् ।
उनी भन्छन्, ‘पहिलेको जस्तो ग्राहकको भीड छैन, मानिसहरू सोचेर मात्र किनिरहेका छन् ।’
उनका अनुसार साना तथा मझौला पसलहरू यस करबाट बढी प्रभावित भएका छन् । सीमित नाफामा चल्ने यस्ता पसलहरूलाई करको भार व्यवस्थापन गर्न कठिन भइरहेको छ । ठूलो पूँजी भएका व्यापारीहरूले केही समय धान्न सक्ने भए पनि साना व्यवसायीहरू टिक्न संघर्ष गरिरहेका छन् ।
आधिकारिक बजारमा मूल्य बढेपछि ग्राहकहरू सस्तो विकल्प खोज्दै अनौपचारिक बजारतर्फ आकर्षित हुन सक्ने बिश्वकर्माको भनाइ छ । यसले सरकारको राजस्वमा समेत असर पार्न सक्ने देखिन्छ ।
यता, व्यवसायीहरूले बैंकको ब्याज, घर भाडा, सटर भाडा तिर्न नसक्ने अवस्थामा पुगेकोले सरकारले यस्को समाधानको बिषयमा तत्काल सोचेर निकास निकाल्नु पर्नेमा बिश्वकर्माले जोड दिएका छन् । सरकारको दुई प्रतिशत बिलासिता करले हाल सुनचाँदी व्यवसायमा नकारात्मक असर परेकाले दीर्घकालमा बजार मुल्य समायोजन गर्ने व्यवसायीहरूको अपेक्षा छ ।
प्रतिक्रिया