दौडमै भविष्य देखेका २६ वर्षीय सनम

बुधबार, १६ बैशाख २०८३, १४ : ४७

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम गुरुङ पछिल्लो समय दौडमा परिचित नाम हो । सामान्य परिवेशमा हुर्किएका उनले आफ्नो भविष्य दौडमा देखेका छन् ।

विगत सात वर्षदेखि निरन्तर दौडमा सक्रिय रहँदै आएका सनमले आफ्नो अथक मिहिनेत, लगनशीलता र दृढ इच्छाशक्तिबाट उल्लेखनीय सफलता हासिल गरेका छन् । उनले हालसम्म एक सयभन्दा बढी दौड प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । 

तनहुँसहित लमजुङ, गोरखा, स्याङ्जा, चितवन, बागलुङ र धादिङलगायत विभिन्न जिल्लामा आफ्नो क्षमता प्रस्तुत गरिसक्नुभएका उहाँले ७० भन्दा बढी पदक जित्न सफल भएका छन् । यो उनका लागिमात्र नभई आँबुखैरेनी र तनहुँ जिल्लाका लागि पनि गर्वको विषय बनेको छ । 

विशेषगरी तनहुँका विभिन्न स्थानमा आयोजित प्रतियोगितामा उहाँले बारम्बार प्रथम स्थान हासिल गर्दै आफ्नो पहिचान स्थापित गर्नुभएको छ । गुरुङले सोमबारमात्रै गोरखामा आयोजित दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो । उहाँका अनुसार दौड प्रतियोगिताबारे जानकारी पाउन अहिले सामाजिक सञ्जाल मुख्य माध्यम बनेको छ । 

“कतिपय प्रतियोगिताको जानकारी फेसबुकजस्ता प्लेटफर्मबाट थाहा हुन्छ, कहिलेकाहीँ आयोजकले नै सम्पर्क गर्नुहुन्छ, साथीभाइले पनि खबर गर्छन्”, उनी भन्छन् । साथै विभिन्न सञ्चारमाध्यममा आउने खेलसम्बन्धी समाचार पनि उनका लागि उपयोगी स्रोत बनेका छन् ।

सनमको सफलताको पछाडि उहाँको परिवार, विशेषगरी आमाको महत्त्वपूर्ण भूमिका रहेको छ । उहाँ आमासँगै बस्दै आउनुभएको र आमाले हरेक पाइलामा साथ दिँदै उहाँलाई प्रेरणा दिइरहेको बताउनुहुन्छ । “आमाको साथ र विश्वासले मलाई अझ बलियो बनाएको छ”, सनम भन्नुहुन्छ ।

आर्थिक दृष्टिले खेलकुद क्षेत्रमा चुनौतीहरू रहे पनि उहाँले पैसाभन्दा सन्तुष्टिलाई ठूलो ठान्नुभएको छ । “दौडमै मेरो भविष्य देखेको छु । मिहिनेत गरिरहेको छु । अहिलेसम्म विदेश जाने सोच बनाएको छैन”, उनी भन्छन् । उनका लागि दौड केवल प्रतिस्पर्धामात्र होइन, जीवनको उद्देश्य र आत्मसन्तुष्टिको माध्यम बनेको छ ।

भविष्यमा अझ ठूला प्रतियोगितामा सहभागिता जनाउँदै देशको नाम उँचो बनाउने लक्ष्य राख्नुभएका सनम अहिले पनि नियमित अभ्यासमा व्यस्त हुनुहुन्छ । आवश्यक पूर्वाधार र अवसरको अभावका बाबजुद उनले हार नमानी आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छन् ।

 
बुधबार, १६ बैशाख २०८३, १४ : ४७

प्रतिक्रिया