काठमाडौं- नेपाली कांग्रेसले रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई निलम्बन गरेको छ।
बुधबार बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले तामाङमाथि थप अनुसन्धान गर्नुपर्ने जनाउँदै निलम्बन गर्ने निर्णय गरेको हो। बुधबारदेखि नै जिल्ला सभापतिका रुपमा कामकाज गर्न नपाउने गरी निलम्बन गरिएको जनाइएको छ।
अनुशासन समितिको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेलसम्मका लागि पूर्णबहादुर तामाङ (कान्छाराम)लाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गर्दछ।’
कांग्रेस नेतृत्वमा विरुद्ध बोलेको आरोपमा स्पष्टीकरण सोधिएको थियो। उनले बुझाएको स्पष्टीकरण सन्तोषजनक र चित्तबुझ्दो नदेखिएको भन्दै अनुशासन समितिले कारबाही अघि बढाएको जनाएको छ।
प्रतिक्रिया