रुकुम पूर्व- नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" चुनावको समिक्षा तथा पार्टी वैठकका लागि रुकुम पूर्व आइपुगेका छन् । रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका संयोजक प्रचण्डको उपस्थितिमा आज वैशाख १७ गतेदेखि रुकुमकोटमा जिल्लास्तरीय बैठक सुरु भएको छ ।
पार्टीका केन्द्रीय सदस्य केशव रावलले दिएको जानकारी अनुसार, आज बिहान १० बजे रुकुमकोट आइपुगेका प्रचण्डलाई स्थानीय नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए । स्वागतपश्चात् दिउँसो १२ बजेदेखि जिल्ला पार्टी कार्यालयमा जिल्ला समितिको विस्तारित बैठक सुरु भएको छ ।
राजनीतिक बैठक र पत्रकार सम्मेलन
प्रचण्डले आज र भोलि रुकुम पूर्वमा सक्रिय राजनीतिक भेटघाट गर्ने कार्यतालिका छ । आज दिनभर जिल्ला समितिको बैठकमा व्यस्त रहने र साँझ कर्मचारीहरु संग भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनले भोलि वैशाख १८ गते बिहान ८ बजे स्थानीय सञ्चारकर्मीहरूसँग पत्रकार सम्मेलन गर्ने कार्यतालिका रहेको छ । त्यसलगत्तै बिहान ९ देखि ११ बजेसम्म पार्टी कार्यालयमा कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट र दिउँसो १२ देखि ३ बजेसम्म सिस्ने गाउँपालिकाको सभाहलमा बैठकको बाँकी काम सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।
थबाङमा प्रगतिशील सङ्गीत उत्सवको उद्घाटन
रुकुम पूर्वको कार्यक्रम समापन गरी संयोजक प्रचण्ड भोलि (वैशाख १८ गते) दिउँसो ३ बजे रोल्पाको ऐतिहासिक क्षेत्र थबाङ प्रस्थान गर्ने छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको आयोजना र थबाङ गाउँपालिकाको मुख्य प्रायोजनमा हुन लागेको ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ को उनले वैशाख १९ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । रोल्पा कला साहित्य प्रतिष्ठान सह-आयोजक रहेको उक्त उत्सव वैशाख १९ र २० गते दुई दिनसम्म चल्नेछ ।
जनयुद्धको उद्गमस्थल थबाङमा आयोजना हुन लागेको यस उत्सवलाई सांस्कृतिक क्रान्ति र प्रगतिशील चिन्तन प्रवर्द्धन गर्ने महत्त्वपूर्ण कडीको रूपमा हेरिएको छ । पार्टी सुदृढीकरण र सांस्कृतिक अभियानलाई जोड्न प्रचण्डको यो रुकुम–रोल्पा भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया