सिन्धुली घटनामा न्याय माग्दै माइतीघरमा दलित प्रदर्शन, प्रधानमन्त्री शाहको आलोचना

आइतबार, २० बैशाख २०८३, १७ : ०५

काठमाडौँ- आइतबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका दलितहरुले सिन्धुलीका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्ने माग राख्दै प्रधानमन्त्री बालेन्द्र शाहको आलोचनासहित प्रदर्शन गरेका छन् । 

दलित समुदायलाई प्रधानमन्त्री शाहले भेट नदिएको भन्दै दलित समुदायले आक्रोश व्यक्त गरेका छन्  ।

सिन्धुलीको खुर्कोट प्रहरी कार्यालयमा शंकास्पद रूपमा मृत्यु भएका श्रीकृष्णका आफन्तले भेट्न प्रयास गर्दा पनि प्रधानमन्त्रीले समय नदिएपछि आफूहरू सडकमा उत्रिनुपरेको उनीहरूले बताएका छन् ।

प्रधानमन्त्री शाह आफैँ गृह र रक्षामन्त्रीसमेत रहेको अवस्थामा पीडित परिवारले न्यायको गुहार माग्न जाँदा भेट्नसमेत नपाउनु गम्भीर विषय भएको उनको भनाइ छ ।

संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका संयोजक दलजित श्रीपालिले सरकारले गठन गरेको छानबिन समितिप्रति आशङ्का व्यक्त गरेका छन् । प्रहरी र प्रमुख जिल्ला अधिकारी गृह प्रशासनकै अङ्ग भएकाले गृह  प्रशासनकै मातहतबाट बनेको समितिले निष्पक्ष प्रतिवेदन ल्याउनेमा आफूहरूलाई विश्वास नरहेको उनले बताए । घटना खुर्कोट प्रहरी चौकीमै भएकाले छानबिन पनि त्यहीँबाटै सुरु हुनुपर्ने र परिवारका सदस्यले न्यायका लागि मुद्दा दर्ता गर्न पाउनुपर्ने उनको माग छ ।

विरोध प्रदर्शनका क्रममा सहभागीहरूले दलितमाथि हुने सबै प्रकारका हत्या र हिंसाको अन्त्य गर्न माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । न्याय प्राप्तिको लडाइँमा सरकार जिम्मेवार नबने आन्दोलन थप कडा बनाउने उनीहरूले चेतावनी दिएका छन् ।
 

 
आइतबार, २० बैशाख २०८३, १७ : ०५

प्रतिक्रिया