उपल्लो मुस्ताङमा देखिए जंगली गधा

सोमबार, २१ बैशाख २०८३, ०९ : १५

मुस्ताङ– नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो संख्यामा जंगली गधा (क्याङ) देखापरेका छन् । 

समून्द्री सतहभन्दा करिब पाँच हजार मिटर उचाइको लोमान्थाङ गाउँपालिकास्थित धालुङ उच्चलेक र सेतारा लेकमा जङ्गली गधा (क्याङ) चर्दै गरिहेको अवस्थामा भेटिएका हुन् । जंगली गधा (क्याङ) सम्बन्धी अध्ययन गरिरहेका एक्याप लोमान्थाङ कार्यालयका प्रमुख उमेश पौडेलले लोमान्थाङस्थित धालुङ र सेतारा उच्चलेकमा जंगली गधा क्याङ चर्दै गरिरहेको अवस्थामा भेटिएको बताए । 

कोरलास्थित नेपाल—चीन सीमा क्षेत्रबाट फर्किंदै गरेको अवस्थामा धालुङ र सेतारा उच्चलेकमा जंगली गधाहरुको बथान चर्दै गरेको अवस्थामा देखिएको प्रमुख पौडेलले बताए । आफूले लोमान्थाङको धालुङ उच्चलेकमा १०२ वटा र सोही स्थानको अर्को सेतारा उच्चलेकमा १४ वटा गरी ११६ वटा जति जंगली गधा (क्याङ) देखेको जानकारी दिए ।

उनका अनुसार जंगली गधाको बासस्थान हिमायन ट्रान्स हिमालयन (तिब्बत÷मुस्ताङ) क्षेत्रमा रैथान संयुक्त बासस्थान रहेको बताइन्छ । दुर्लभ स्तनधारी जंगली गधा (क्याङ)को मौसम अनुसार बासस्थान तय हुने प्रमुख पौडेलको भनाइ छ । हिउँदयामको आठ महिना तिब्बती पठारमा  बर्खायाममा गर्मी सुरु हुँदा चार महिना उपल्लो मुस्ताङ क्षेत्रको उच्चलेकमा बासस्थान बनाउने गरेको प्रमुख पौडेलले बताए । 

तिब्बतको पठारमा बढी समय बिताउने जंगली गधाहरु अप्रिल, मे र जुन महिनामा बासस्थान परिवर्तन गरी उपल्लो मुस्ताङका उच्चलेकमा प्रवेश गर्छन् ।  तिब्बत र मुस्ताङको सीमा क्षेत्रमा बस्ने जंगली गधाहरु बढी समय तिब्बती पठारमा बिताउँछन् । चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सीमाक्षेत्रको चरन क्षेत्रमा मौसमअनुसार जङ्गली गधाको सङ्ख्या देखिने गरेको छ ।

यसअघि ‘क्यामेरा ट्यापिङ’ गरी प्राविधिक रुपमा जङ्गली गधाको सङ्ख्या यकिन गर्ने गरिएको भए पनि यति ठूलो सङ्ख्यामा पहिलो पटक देखिएको हो । यसअघि सन् २००४ मा गरिएको जङ्गल गधाको अध्ययनमा उपल्लो मुस्ताङमा ३७ वटा संख्यामा देखापरेका थिए । जलवायु परिवर्तनका कारण यस प्रकारका जंगली गधाहरु मौसमअनुसार तलमाथि गर्ने गर्छन । यो याममा उपल्लो मुस्ताङका सीमावर्ती उच्चलेकमा हरियो घाँस पलाइसकेकाले जंगली गधाहरू आहारको खोजीमा नेपाल प्रवेश गरेका हुन् ।

जंगली गधाको शरीर खैरो÷हरियो रातो र पेटतिरको भाग सेता रंग हुन्छ । यसका खुट्टाहरु लामो लामो र सिधा उभिने शैलीको छिटो कुद्न सक्ने क्षमता राख्दछ । जंगली गधा एसियाकै सबैभन्दा ठूलो स्तनधारी प्राणी हो ।

समूहमा बस्ने, छिटो छिटो कुद्ने र सतर्क रहने जंगली गधाको मुख्य विशेषता हो । जंगली गधाका लागि जलवायु संकट र मानव गतिविधि मुख्य चुनौतीका रुपमा लिने गरिएको छ ।

 
सोमबार, २१ बैशाख २०८३, ०९ : १५

प्रतिक्रिया