सुनचाँदी व्यवसाय

नेपालमा सुनचाँदी एक्स्पो : अवसर, चुनौती र सम्भावना

विहीबार, २४ बैशाख २०८३, १२ : ४६

काठमाडौं– नेपालमा सुनचाँदी तथा आभूषण व्यवसाय परम्परागत रूपमा बलियो मानिन्छ । तर अझैसम्म अन्तर्राष्ट्रिय स्तरको ‘सुनचाँदी एक्स्पो’ आयोजना हुन सकेको छैन । यस्तो एक्स्पोको अभावले नेपाली उत्पादन र सीपलाई विश्व बजारमा पुर्याउने अवसर सीमित भएको छ । यदि नेपालमा व्यवस्थित रूपमा यस्तो एक्स्पो आयोजना गरियो भने यसले अर्थतन्त्र, पर्यटन र रोजगारीमा सकारात्मक प्रभाव पार्ने निश्चित छ ।

यसका लागि सरकारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । सरकारले एक्स्पो आयोजनाका लागि स्पष्ट नीति, करमा सहुलियत, र आवश्यक पूर्वाधार उपलब्ध गराउनुपर्छ । साथै, अन्तर्राष्ट्रिय सहभागिता बढाउन कूटनीतिक पहल आवश्यक हुन्छ । सुनचाँदीजस्ता बहुमूल्य वस्तुको प्रदर्शनी हुने भएकाले उच्च सुरक्षा व्यवस्था र पारदर्शी कारोबार सुनिश्चित गर्नु पनि सरकारको दायित्व हो । दीर्घकालीन रूपमा नेपाललाई ‘ज्वेलरी हब’ बनाउने रणनीति बनाउनु आवश्यक देखिन्छ ।

चितवनका सफल युवा व्यवसायी एवम् जय सन्तोषीमा सुनचाँदी सोरुमका निर्देशक रुबिन रामुदामु सरकारको नीतिगत प्रक्रिया सहज बनाइदिए विश्वस्तरको प्रतिस्पर्धा गर्न सकिने बताउँछन् । 

‘सरकारले कर र नीतिगत झन्झट घटाइदिए हामी नयाँ डिजाइन र प्रविधि ल्याएर विश्वस्तरको प्रतिस्पर्धा गर्न सक्छौं । कालीगरहरुले वर्षौं देखि सीप सिकेका छन्, तर उचित बजार नपाउँदा मेहनतको मूल्य पाउन सकिएको छैन । यस्तो एक्स्पोले कारीगरहरुको पहिचान स्थापित गरिदिन्छ ।’, उनले आजको अर्थसँग भने । 

यद्यपि, उच्च करदर, कच्चा पदार्थको अभाव, र नीतिगत अस्थिरता जस्ता चुनौतीहरू समाधान नगरी यो प्रयास सफल बनाउन कठिन हुने उनले प्रष्ट पारे । सुनचाँदी व्यवसायी रुबिन रामुदामुले भने ‘१९७५/१९८० तिर नेपाली हस्तनिर्मित गहनाले युरोप अमेरीका तथा विश्व बजारमा राम्रो प्रभाव पारेको थियो तर पछिल्लो समयमा नेपालको अर्थनितिले व्यवसायमा ठूलो ह्रास आएको छ ।’

विभिन्न समयमा स्थानीय सुनचाँदी एक्स्पो भए पनि त्यो प्रभावकारी भने हुन नसकेको उनले जनाए । ‘छिमेकी मुलुक भारतमा बार्षिक २-३ पटक सम्म अन्तरास्ट्रिय स्तरको सुनचाँदी एक्स्पो हुन्छ, हामीले पनि गर्न सक्छौ तर सरकारले यस्कोलागि सुरक्षा, अन्तरास्ट्रिय बजारमा गहनाहरु लान ल्याउन, मेसिन तथा निमार्ण सम्बन्धि पाटपुर्जा लान ल्याउन सहज बातावरण बनाइदिए, व्यवसायीहरुलाइ झन्झट मुक्त हुने निती बनाएमा नेपालमा अन्तराष्ट्रिय सुनचाँदी एक्स्पो गर्न सकिन्छ ।,’ उनले आजको अर्थसँग भने ।     

त्यस्तै,अर्का युवा व्यवसायी एवम् आधुनिक सुनचाँदी पसल मिलनरोडका सञ्चालक विकास बर्मा पनि नेपाली गहना मौलिकतामा आधारित भएकाले एक्स्पोमार्फत अन्तर्राष्ट्रियकरणमा सकारात्मक प्रभाव पार्न सकिने बताउँछन् । 

आजको अर्थसँग कुरा गर्दै उनी भन्छन्,‘नेपाली गहनामा मौलिकता छ । एक्स्पोमार्फत यसलाई ब्रान्डिङ गर्न सकियो भने विदेशी ग्राहक आकर्षित गर्न सकिन्छ । सुनचाँदी एक्स्पोले विश्वबजारमा सकारात्मक प्रभाव पार्न सक्छ । यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउँछ, विदेशी व्यापारी र पर्यटक भित्र्याउँछ, जसले होटल, यातायात लगायतका क्षेत्रमा आम्दानी बढाउँछ ।’

स्थानीय कालीगढहरूको सीप अन्तर्राष्ट्रिय बजारसम्म पुग्दा रोजगारीका अवसर सिर्जना हुने र नयाँ प्रविधि र डिजाइनको आदानप्रदानले नेपाली गहना उद्योगलाई अझ प्रतिस्पर्धात्मक बनाउने उनको भनाइ छ ।

त्यस्तै, काठमाडौं गोगंबु स्थित शुभ मंगलम् ज्वैलर्सका सन्चालक विकास गजमेर पनि सुनचाँदी व्यवसाय अन्तर्राष्ट्रिय स्तरमा देखाउने प्लेटफर्म  हुन नसकेको गुनासो गर्छन । उनी भन्छन्, ‘हामीसँग सीप र अनुभव छ, तर अन्तर्राष्ट्रिय स्तरमा देखाउने प्लेटफर्म छैन । एक्स्पो भएमा हाम्रो बजार विस्तार गर्न धेरै सहज हुन्छ ।’ 

व्यवसायीहरूले पनि आफ्नो भूमिका जिम्मेवार ढंगले निर्वाह गर्दै उनीहरूले आधुनिक डिजाइन, गुणस्तर र नवीनतामा ध्यान दिनुका साथै परम्परागत नेपाली कला फिलिग्री र हस्तनिर्मित गहनालाई अन्तर्राष्ट्रिय बजारअनुसार प्रस्तुत गर्न आवश्यक रहेको उनले जोड दिए । व्यवसायीहरूबीच सहकार्य र एकता पनि सफल एक्स्पोका लागि आवश्यक आधार भएको सुनचाँदी व्यवसायी उनै गजमेरको भनाइ छ ।  

नेपालमा सुनचाँदी एक्स्पो आयोजना गर्नु आर्थिक विकास र सांस्कृतिक प्रवद्र्धनका लागि महत्वपूर्ण अवसर हो । सरकार र व्यवसायीबीच सहकार्य हुन सकेमा नेपालले आफ्नो मौलिक कला र उत्पादनलाई विश्व बजारमा स्थापित गर्न सक्नेछ ।
 

 
 
 
 
 
 
 
विहीबार, २४ बैशाख २०८३, १२ : ४६

प्रतिक्रिया