काठमाडौं- राज्यकोषबाट पैसा लिएर विदेशमा उपचार गर्ने पूर्वविशिष्टहरूको विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको छ । पूर्वराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीसम्मलाई लक्षित गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।
अधिवक्ता सरोज न्यौपानेले बिहीबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा पूर्वराष्ट्रपति रामबरण यादव पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनालसहित पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाइएको छ ।
रिटमा कानुन र स्पष्ट कार्यविधि नै नभएको अवस्थामा मन्त्रिपरिषद्को निर्णयका भरमा विदेश उपचार खर्च राज्यकोषबाट उपलब्ध गराइएको दाबी गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिटको पेशी शुक्रबारका लागि तय गरिएको छ ।
नेपालमै उपचार सम्भव हुँदाहुँदै पूर्वविशिष्टहरू विदेश पुग्ने र त्यसको सम्पूर्ण खर्च सरकारले बेहोर्ने अभ्यास विगतदेखि चल्दै आएको छ । यही अभ्यासलाई चुनौती दिँदै दायर गरिएको रिटले अब राज्य स्रोतको प्रयोग, राजनीतिक पहुँच र विशेषाधिकारबारे नयाँ बहस सुरु गराएको छ ।
२०७५ सालमा जारी जनस्वास्थ्य ऐनले यस्ता खर्चमा नियन्त्रण गर्ने उद्देश्य राखे पनि त्यसपछि बनेका कार्यविधिको आडमा विशिष्ट पदाधिकारीहरूले विदेशमै उपचार गराउँदै आएको आरोप रिटमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया