काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशीविदेशी प्रतिक्रियावादी ठूलो ‘डिजाइन’अन्तर्गत लागिपरेको बताएका छन् । २६औँ निर्मल लामा स्मृति दिवसको अवसर पारेर आइतबार (वैशाख २७) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उक्त तथ्यलाई स्वीकार गरेर अघि बढ्ने आँट नेपालको कम्युनिस्ट आन्दोलनले नगरे श्रमजीवी जनताप्रति ठूलो घात गरेको ठहर्ने उनले उल्लेख गरे । “कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशीविदेशी प्रतिक्रियावादीहरू निकै ठूलो डिजाइनअन्तर्गत लागिपरेका छन्,” उनले भने, “यो सत्यलाई स्वीकार गर्न हामीले आँट गरेनौँ भने जानेर वा नजानेर हामीले श्रमजीवी वर्गप्रति, उनीहरूको आकांक्षाप्रति घात गरेको नै ठहर्छ भन्ने मलाई लागेको छ ।”
उनले नेपालका कम्युनिस्ट पार्टीले आफैँभित्र पहिला समीक्षा गरेर सच्चिनुपर्नेमा जोड दिए । सिंगै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर फेरि नयाँ ढंगले आन्दोलनमा जानुको विकल्प नरहेको उनले बताए ।
प्रतिक्रिया