आठविसकोट नगरपालिकामा मेयर केसीको मनोमानी, उपमेयरसहित कार्यपालिका सदस्यलाई लत्याएर एकलौटी निर्णय गर्दै

विहीबार, ३१ बैशाख २०८३, १२ : १७

रुकुम पश्चिम– रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका मेयर रवि केसीले कार्यपालिका बैठकमा एकलौटी ढंगले निर्णय गर्न खोजेपछि बहुमत कार्यपालिका सदस्यहरू असन्तुष्ट बनेका छन् । 

मेयर केसीले कार्यपालिका बैठकमा एकलौटी ढंगले अघि बढ्न खोजेपछि उपमेयर धन कुमारी शाहीसहित वडा अध्यक्ष र बहुमत कार्यपालिका सदस्यहरूले दुई वटा कार्यपालिका बैठकका निर्णयमा असहमति जनाउँदै बैठक बहिष्कार गर्दै आइरहेका छन् । 

यसअघि गत चैत २८ गते बोलाइएको कार्यपालिका बैठकमा पनि मेयर केसीले बहुमत कार्यपालिका सदस्यको असहमतिका बीच एकलौटी निर्णय गर्न खोजेपछि अधिकांश सदस्यले बैठकको निर्णय प्रक्रियामा सहभागी नभएर बाहिरिएका थिए । 

त्यसयता गत वैशाख २२ गते बोलाइएको ११५ औं कार्यपालिका बैठकमा पनि मेयरकै मनोमानीपूर्ण तरिकाले निर्णय लाद्ने पुरानै प्रवृत्ति दोहोरिएपछि २४ जना कार्यपालिका सदस्यमध्ये १३ जनाले बैठकको निर्णयमा असहमति व्यक्त गर्दै बाहिरिएका थिए । दुबै कार्यपालिका बैठकले संस्थागत निर्णय गर्न नसक्दा नगरपालिकाको काम समेत प्रभावित बनेको छ । 

कार्यपालकिा बैठकको निर्णयमा उपमेयर शाहीसहित वडाअध्यक्षहरु अमृत बुढा, घनश्याम भण्डारी, धनेश्वर शर्मा, नरसिंह विष्ट, जनक बटाला, प्रेमबहादुर पुन, टेकबहादुर थापा र गणेशकुमार शाहले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । 

त्यस्तै, कार्यपालिका सदस्य सेतु थापा, हिरा थापा, सदिक्षा मल्ल, रत्ने कामी र कृष्णा पुनले पनि कार्यपालकिा बैठकको निर्णय प्रक्रियामा असहमति जनाउँदै हस्ताक्षर गरेका थिएनन् ।

मेयर केसी र निमित्त प्रमुख कार्यकारी अधिकृत राजेश गौतमको मिलेमतोमा आफूखुशी निर्णय गरेर बहुमत सदस्यहरूलाई बाइपास गरिँदै आइएको उपमेयर धनकुमारी शाहीले गुनासो गरिन् । कार्यपालिका बैठकमा एकलौटी निर्णय गर्दै मेयर केसी काठमाडौं पुगेर सम्पर्कविहीन हुने गरेको उपमेयर शाहीले बताइन् । 

‘मनोमानी ढंगले एकपक्षीय रुपमा योजना हाल्ने र बहुमत कार्यपालिका सदस्यलाई उपेक्षा गर्दै आउनुभएको छ ।’, उपमेयर शाहीले भनिन्, ‘ बहुमत सदस्यको भावनालाई लत्याएर संस्थागत निर्णय नगरी मनोमानी लादेर जनमतको अपमान गरिएको छ ।’

उपमेयर शाहीका अनुसार बैठकको एकलौटी निर्णयमा असहमत भएका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको घरघरमा पुगेर निर्णयको माइन्युटमा सही गराउने समेत गरिएको छ । 

मेयर र उपमेयरको टकरावकै कारण आठविसकोट नगरपालिकाको दुईवटा कार्यपालिका बैठकले संस्थागत निर्णय गर्न नसकेर अन्योलग्रस्त बनेको छ । ११४ औं र ११५ औं कार्यपालिकाको बैठक सर्वसम्मत हुन नसकेपछि कार्यपालिकाका २४ सदस्यमध्ये १३ जनाले बैठक बहिष्कार गर्दै निर्णय नमान्ने घोषणा गरेका छन् ।  

आठविसकोट नगरपालिकाका मेयर र उपमेयर एउटै पार्टी माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । तर रुकुमकै प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले माओवादी परित्याग गरी अलगै दल प्रलोपा खोलेपछि उपमेयर त्यसमै लागेकी थिइन् । मेयर केसी भने अहिले नेपाली कम्युनिष्ट पार्टी(नेकपा)मै रहेका छन् ।

उपमेयर शाही प्रलोपामा लागेपछि  मेयर केसीले नगरपालिकाका कामकारबाहीमा एकलौटी निर्णय लाद्न खोज्दै निर्णय प्रक्रियामा हस्तक्षेपकारी भूमिका बढाए हुन् । मेयर केसीले बहुमत कार्यपालिका सदस्यलाई निषेध गर्दै निर्णय गर्न थालेपछि दुईबीच टसल बढेको हो । 

 
 
 
 
विहीबार, ३१ बैशाख २०८३, १२ : १७

प्रतिक्रिया