काठमाडौं- पछिल्ला दिनहरूमा आर्थिक अनियमितता र विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी तथा बैंकरहरू पक्राउ गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघले यस्तो प्रवृत्तिले निजी क्षेत्र र बैंकिङ प्रणालीमा त्रास र असुरक्षा बढाएको भन्दै सरकारलाई संयमता अपनाउन आग्रह गरेको हो।
बिहीबार जारी वक्तव्यमा महासंघले निजी क्षेत्र र बैंकिङ क्षेत्रका नेतृत्वदायी व्यक्तिमाथि फौजदारी शैलीमा धरपकड गरिनुले व्यावसायिक वातावरणमा नकारात्मक असर परेको जनाएको छ। यसले लगानीकर्ता र व्यवसायिक समुदायमा अविश्वास बढ्ने महासंघको भनाइ छ।
महासंघका अनुसार बैंकका उच्च अधिकारी पक्राउ पर्ने घटनाले बैंकिङ क्षेत्रको विश्वसनीयतामै असर पर्न सक्नेछ भने कर्जा प्रवाह र लगानी विस्तारमा समेत नकारात्मक प्रभाव पर्ने जोखिम रहेको छ।
प्रारम्भिक अनुसन्धान नै पूरा नगरी उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने र ‘मिडिया ट्रायल’ गर्ने प्रवृत्तिप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ। अनुसन्धानलाई कानुनी प्रक्रिया र गोपनीयताको दायराभित्र राख्न तथा देवानी प्रकृतिका विषयलाई फौजदारी शैलीमा अघि नबढाउन सरकारको ध्यानाकर्षण गराइएको छ।
महासंघले संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म निर्दोष मानिने सिद्धान्तको सम्मान गर्न सरकारसँग आग्रह गर्दै व्यवसायिक विश्वास पुनःस्थापित गर्ने वातावरण बनाउन अपिल गरेको छ।

प्रतिक्रिया