घरजग्गा व्यवसाय

सुस्ताएको घरजग्गा व्यवसाय फेरि चलायमान हुँदै, तत्काल आवश्यक नीति ल्याउन व्यवसायीहरूको माग

शुक्रबार, ०१ जेठ २०८३, १२ : ३८

काठमाडौं- नेपालमा घरजग्गा कारोबार व्यवसाय अहिले चलायमान हुँदै गएको छ । केही महिनाअघिसम्म अत्यधिक सुस्त रहेको घर जग्गा किनबेच अहिले विस्तारै लयमा फर्किन थालेको छ । घरजग्गा कारोबार बढ्न थालेपछि अहिले मालपोत कार्यालयदेखि समग्र निर्माण क्षेत्रमा समेत यसको प्रत्यक्ष प्रभाव पार्दै यसले समग्र अर्थतन्त्रमै टेवा पुर्याएको छ । 

यसअघि जग्गा कारोबार घटेसँगै सरकारको राजस्व संकलनमा पनि कमी आएको थियो । मालपोत कार्यालयबाट उठ्ने राजस्व घट्दा स्थानीय तहदेखि संघीय सरकारसम्मको आम्दानी प्रभावित भएका थिए । विशेषगरी बैंकको ब्याजदर, कर्जा प्रवाहमा कडाइ र बजारमा तरलता अभावका कारण घरजग्गा क्षेत्रमा लगानी घट्दै गएको हो ।

यसैबीच, नेपाल घरजग्गा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णु प्रसाद घिमिरेले केही महिनाअघि ठप्पजस्तै भएको घरजग्गा कारोबार दुई तीन महिनादेखि बढ्न थालेको जानकारी दिए ।

‘केही महिना अगाडी बैंकले सहज रूपमा कर्जा नदिँदा र आर्थिक अनिश्चितता बढ्दा घर जग्गा कारोबार ठप्पजस्तै भएको थियो । सुस्त रहेको व्यवसाय केही दिन यता बढ्दो क्रममा रहेको छ ।’, अध्यक्ष घिमिरेले आजको अर्थसँग भने ,‘व्यवसायीहरुले लगानी गर्दा केही समय स्थिर भए पनि आत्तिहाल्नु पर्ने भने हुँदैन । यो मानिसको जिवनमा अत्यावश्यक बस्तु हो ।’, उनले व्यवसायीहरू लगानी गर्न डराउनु पर्ने अवस्था भने नरहेको प्रष्ट्याए ।  

घरजग्गा कारोबार सुस्ताउँदा निर्माण व्यवसाय पनि यसबाट प्रत्यक्ष प्रभावित भएको अध्यक्ष घिमिरेले बताए । उनले भने, ‘नयाँ घर तथा भवन निर्माण कम हुँदा सिमेन्ट, डन्डी, इँटा लगायत निर्माण सामग्रीको व्यापार घट्छ । निर्माण मजदुरसमेत बेरोजगार बन्न थालेका छन् ।’ 

घरजग्गा व्यवसाय सुस्ताउँदा राजस्व संकलनमा पनि गिरावट आएको छ । अहिले घर जग्गा किन्ने उपभोक्तालाई मौका आएको छ । सरकारले घर जग्गा कारोबारमा हुने विचैलिया अन्त्य गरे पछि कारोबारमा प्रभाव परेको हो । 

सरकारले सेयर मार्केट जस्तै ल्यान्ड मार्केटको स्थापना गरेमा कारोबार पारदर्शी हुने अध्यक्ष घिमिरेले बताए । कारोबार बापत ब्रोकरलाई निश्चित कमिशन दिने नीति तथा कानुन निमार्ण गरिए व्यवसायीहरुलाई राहत हुने उनको भनाइ छ ।  

त्यस्तै, नारायणी आवास तथा जग्गा व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष हेमन्त केसी केही महिनायता चितवनमा घर जग्गा कारोबारमा सुधार आएको बताउँछन् ।

उनले आजको अर्थसँग भने, ‘केही महिना अगाडि  घरजग्गा क्षेत्रको कारोबार सुस्ताउँदा समग्र अर्थतन्त्रमै असर परेको थियो  । घरजग्गा कारोबार घट्दा बैंकिङ, निर्माण, व्यापार र रोजगारी क्षेत्रमा श्रृंखलाबद्ध असर पर्दछ । घरजग्गा क्षेत्र चलायमान हुँदा धेरै क्षेत्र सक्रिय हुन्छ, अहिले त्यो चक्रमा सुधार आएको छ । ’

सरकारले घरजग्गा क्षेत्र चलायमान बनाउन व्यवसायमैत्री नीति बनाउन सके  व्यवसाय चलाउन सहज हुनसक्ने केसी औंल्याउँछन् । बैंक ब्याजदर घटाउने, कर्जा प्रवाह सहज बनाउने र लगानीमैत्री वातावरण तयार गर्न सके बजार पुनः चलायमान हुने उनको भनाइ छ । 

चितवन सुरक्षित आवासको लागि सही गन्तव्य भएकाले यहाँ घरजग्गा व्यवसायमा लगानी सुरक्षित हुने नारायणी आवास तथा जग्गा व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष केसीको दाबी छ । 

यता, सर्वसाधारण भने घरजग्गाको मूल्य अझै महँगो रहेकाले किन्ने सक्ने अवस्था छैनन् । काठमाडौं उपत्यकासहित मुख्य शहरमा घर जग्गाको मूल्य सामान्य मानिसको पहुँचभन्दा बाहिर पुगेको छ । आर्थिक मन्दीका कारण आम्दानी घट्दा नागरिकले लगानी गर्न सक्ने अवस्था छैन । 

अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको घरजग्गा व्यवसाय लामो समयसम्म सुस्ताउँदा त्यसको प्रत्यक्ष असर समग्र आर्थिक क्षेत्रमा देखिने भएकाले सरकारले समयमै आवश्यक नीति ल्याउन आवश्यक रहेको व्यवसायीहरु बताउँछन् ।
 

 
 
 
 
 
 
 
शुक्रबार, ०१ जेठ २०८३, १२ : ३८

प्रतिक्रिया