काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्र घोषणा नगर्न चेतावनी दिएका छन् ।
बेइजिङमा चिनियाँ समकक्षी सी चिनफिङसँग भएको दुई दिने शिखर सम्मेलनको अन्त्यमा शुक्रबार फक्स न्यूजसँग कुरा गर्दै अमेरिकी राष्ट्रपतिले भने, “म कसैले स्वतन्त्रता घोषणा गरेको हेर्न चाहन्नँ ।”
ताइवानका राष्ट्रपति लाइ चिङ–तेले यसअघि नै ताइवानले आफूलाई सार्वभौम राष्ट्र मानिसकेको भन्दै औपचारिक स्वतन्त्रता घोषणा आवश्यक नभएको बताउँदै आएका छन् ।
चीनले ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ । आवश्यक परे बल प्रयोग गरेर कब्जा गर्न सक्ने सम्भावनालाई पनि उसले अस्वीकार गरेको छैन । यसअघि ट्रम्पले ताइवानका विषयमा आफूले कुनै पनि पक्षमा प्रतिबद्धता नजनाएको बताएका थिए ।
उनले भने, “तपाईंलाई थाहा छ, हामीले युद्ध लड्नका लागि नौ हजार ५०० माइल यात्रा गर्नुपर्ने हुन्छ । म त्यो चाहन्नँ । म उनीहरू शान्त रहून् भन्ने चाहन्छु । म चीन शान्त रहोस् भन्ने चाहन्छु ।”
वासिङ्टन फर्किने क्रममा विमानभित्र पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफू र सीबीच ताइवानका विषयमा धेरै कुराकानी भएको बताए । तर, चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्छ कि गर्दैन भन्ने प्रश्नमा भने उनले टिप्पणी गर्न अस्वीकार गरे ।
ट्रम्पका अनुसार सी चिनफिङ ताइवानका विषयमा निकै संवेदनशील छन् र कुनै पनि स्वतन्त्रता आन्दोलन हेर्न चाहँदैनन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार वार्ताका क्रममा सीले चेतावनी दिँदै भनेका थिए ।
चीनसँग ताइवानका विषयमा द्वन्द्व हुन सक्ने सम्भावना देख्नुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले भने, “छैन, मलाई त्यस्तो लाग्दैन । मलाई लाग्छ हामी ठीक हुनेछौँ । सीे युद्ध चाहँदैनन् ।”
प्रतिक्रिया