सरकार नसुध्रिए सदन र सडकबाट आन्दोलन गर्छौं : प्रचण्ड

आइतबार, ०३ जेठ २०८३, १२ : ३२

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नसुध्रिए सदन र सडक दुवैबाट आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

प्रेस सेन्टर नेपाल सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले जेनजी आन्दोलन र त्यसपछिको घटनाक्रमले मुलुकको राजनीति असहज दिशातर्फ गएको बताए । निर्वाचनपछि नयाँ सरकार गठन भए पनि राजनीति अझै सही ट्र्याकमा अघि बढ्न नसकेको उनको टिप्पणी थियो ।

सुकुम्वासी, विद्यार्थी र ट्रेड युनियनसँग सम्बन्धित समस्या अझै समाधान हुन नसकेको उल्लेख गर्दै उनले ती विषय अहिले पनि गम्भीर चुनौतीका रूपमा रहेको बताए ।

संविधान संशोधनका लागि सरकारले तयार पारिरहेको बहसपत्र पारदर्शी नभएको आरोप पनि उनले लगाए । अध्यादेशमार्फत सरकारले अस्वाभाविक ढंगले काम गरिरहेको भन्दै उनले सरकार संसद्लाई छल्ने शैलीमा अघि बढ्न खोजिरहेको दाबी गरे ।

“झण्डै दुईतिहाइको सरकारबाट जनताले राम्रो कामको अपेक्षा गरेका थिए । सुरुमा सरकारले १०० दिने कार्ययोजना सार्वजनिक गर्दा आशा जागेको थियो,” उनले भने, “तर पछि सरकार संसद्लाई छल्दै अघि बढ्न खोजिरहेको देखियो ।”

सरकारका सकारात्मक काममा आफ्नो पार्टीले सहयोग गर्ने तर सुझावलाई बेवास्ता गरिए कडा प्रतिवाद गर्ने उनले चेतावनी दिए ।

फरक प्रसंगमा उनले पार्टी महाधिवेशनमार्फत नयाँ पार्टी निर्माण गर्ने निर्णय भएको जानकारी दिए । साथै वामपन्थी एकताको पहल अघि बढाइएको भए पनि तत्काल एकता हुने अवस्था नरहेको उनको भनाइ थियो ।

 
आइतबार, ०३ जेठ २०८३, १२ : ३२

प्रतिक्रिया