काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रालि द्वारा उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अनुपयुक्त भएको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त आइसक्रिम गुणस्तरहीन भेटिएकाले बिक्री वितरणमा रोक लगाइएको जनाएको छ ।
प्रयोगशाला परीक्षणका क्रममा आइसक्रिममा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट तथा इन्टेरोब्याक्टेरिएसी काउन्टजस्ता हानिकारक जीवाणुको मात्रा मापदण्डभन्दा बढी फेला परेको विभागले जनाएको छ ।
विभागका अनुसार यस्ता जीवाणुको उपस्थितिले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको हो ।
पोखरा औद्योगिक क्षेत्रमा रहेको डेरीबाट उत्पादित ब्याच नम्बर ‘सीओ२’ अन्तर्गतको १ हजार मिलिलिटर प्याकको आइसक्रिम बजारबाट तत्काल फिर्ता गर्न आदेश दिइएको छ ।
उत्पादन मिति १९ साउन २०८२ उल्लेख गरिएको र १२ महिनासम्म उपभोग्य अवधि रहेको उक्त ब्याचका सबै आइसक्रिम बिक्री वितरण नगर्न तथा नगराउन विभागले सम्बन्धित उत्पादकलाई निर्देशन दिएको छ ।
विभागले उपभोक्तालाई पनि स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै उक्त ब्याचको आइसक्रिम प्रयोग नगर्न आग्रह गरेको छ ।
प्रतिक्रिया