सचेतना नहुँदा जंगली च्याउ खाने क्रम जारी, तीन चेपाङ बालबालिकाले ज्यान गुमाए

मंगलबार, ०५ जेठ २०८३, १० : १६

भरतपुर–  चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन् । उनीहरू एउटै परिवारका सदस्य हुन् । 

राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते घरमा नै मृत्यु भएको थियो । सञ्जयको गत शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको आज बिहान ६ः०० बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

गत वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जनाको परिवारले जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए । त्यसपछि उनीहरू बिरामी परेका थिए । गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

मृतक नमूना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत रहेको विद्यालयले जनाएको छ । मृत बालबालिकाका बुबाआमा भने सकुशल छन् । दुई वालबालिकाको दाहसंस्कार भइसकेको छ भने आज मृत्यु भएका बालिकाको शव बुझ्ने तयारी भइरहेको प्रअ मगरले जानकारी दिए ।
 

 
मंगलबार, ०५ जेठ २०८३, १० : १६

प्रतिक्रिया